२० कात्तिक, काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो केही दिनअघि बाहिरियो ।
प्रहरीको हिरासतमा रहेका व्यक्तिमाथि अनुसन्धान चलिरहेकै अवस्थामा अडियो सार्वजनिक हुनुले प्रहरीको अनुसन्धानमा यसले गम्भीर प्रश्न उठाएको छ । अनुसन्धानको चेन अफ कस्टडी मेन्टेन हुनुपर्नेमा त्यो भएको देखिँदैन ।
उच्च तहका व्यक्तिसँग कनेक्सन रहेको भनिएका सापकोटामाथिको निकै संवेदनशील अनुसन्धानको विषय नै बाहिरिएपछि अनुसन्धान गर्ने निकायमाथि समेत प्रश्न उठेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी दिलीप घिमिरेलाई यो अडियो लिकबारे अनलाइनखबरले जिज्ञासा राखेको छ ।
‘तपाईंहरूको हिरासतमा रहेका व्यक्ति इनम सापकोटाको अडियो नै बाहिरिएको छ । बयानको अडियो भन्दै बाहिरिएपछि अनुसन्धान युनिट (काठमाडौं परिसर)माथि पनि प्रश्न उठेको छ । यस्तो संवेदनशील विषयमा तपाईंहरूको जवाफदेहिता हुनुपर्ने हो ? अडियो कसरी बाहिरियो ? वा बाहिरिएको त्यो अडियो सत्य हो कि होइन ?’ अनलाइनखबरले एसएसपी घिमिरेलाई प्रश्न गरेको छ ।
उक्त प्रश्नको जवाफ दिँदै एसएसपी घिमिरेले अनुसन्धान भइरहेको मात्रै बताए ।
‘अनुसन्धान गर्ने एक मात्र निकाय प्रहरी हो । हाम्रो सम्बन्धमा कुरा गर्दा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिलेसम्म उहाँको सम्बन्धमा हामीले कुनै धारणा सार्वजनिक गरेका छैनौं’, एसएसपी घिमिरेले भने ।
‘सार्वजनिक अडियोको विषयलाई आधार मात्रै नेपाली कांग्रेसका सभापतिलाई नै प्रहरीले पक्राउ गर्न लागेको विषयहरू पनि सार्वजनिक भएका छन् । इनमको अनुसन्धान तपाईंहरूले गरिरहेकाले पक्राउ गर्नुपर्ने आधार प्रमाण फेला परेका हुन् वा सार्वजनिक विषयहरू मिथ्या हुन् ?,’ अनलाइनखबरले अर्को प्रश्न एसएसपी घिमिरेलाई गरेको छ ।
यसबारे पनि एसएसपी घिमिरे अनुसन्धान भइरहेको विषय भन्दै पन्छिए । ‘अहिले अनुसन्धान जारी रहेकाले हामीले कसैकाविरुद्ध पनि धारणा सार्वजनिक गरेका छैनौं’, घिमिरेले जवाफ दिए ।
प्रतिक्रिया 4