२१ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर सरकारले अन्याय गरेको बताउँदै सर्वोच्चले न्याय दिने बताएका हुन् ।
‘आईजीपीको विषय सर्वोच्च गएको छ । मलाई विश्वास छ, आईजीपीमाथि अन्याय भएको छ । सर्वोच्चले न्याय गर्छ भन्ने मेरो विश्वास छ,’ प्रचण्डले भने ।
प्रचण्डले सरकारविरुद्ध आन्दोलनको तयारीका विषयमा अन्य दलसँग कुराकानी भइरहेको बताए ।
‘छलफल चलिराखेको छ, पार्टीहरूसँग पनि । हामी अहिले राष्ट्रिय जागरण अभियानमा छौं,’ उनले भने, ‘त्यो अभियान सकिएपछि मात्रै त्यसको समीक्षा गरेर अनि अगाडिको योजना बनाउँछौं ।’
संविधान निर्माण र शान्ति प्रक्रियामा सहभागी दलहरूसँग आन्दोलनबारे कुरा भइरहेको उनको भनाइ छ । ‘एमालेसँग मात्र होइन, कांग्रेससँग पनि र अरुसँग पनि । सकेसम्म हिजोको संविधान, शान्ति प्रक्रियामा सहभागी सबैलाई एकठाउँमा जोडेर जानुपर्छ भन्ने हाम्रो बुझाइ छ,’ प्रचण्डले भने ।
वर्तमान सरकारको कामकारबाहीलाई उनले सरकार झिलिमिलीमा रमाएको टिप्पणी गरे ।
प्रतिक्रिया 4