हरेक वर्ष नोभेम्बर २२ मा मनाइने विश्व अकुपञ्चर दिवस मनाइन्छ । यस दिन हजारौँ वर्षदेखि मानव स्वास्थ्यको संरक्षणमा योगदान पुर्याउँदै आएको अकुपञ्चर चिकित्सा पद्धतिको इतिहास, अन्तर्राष्ट्रिय स्वीकार्यता, वैज्ञानिक विकास र भविष्यको सम्भावनालाई स्मरण गर्ने महत्वपूर्ण अवसर हो ।
अकुपञ्चर त चिकित्साबारे समाजमा अनेक अनेक धारणा र गलत बुझाइ पनि छ । तर अकुपञ्चरको इतिहास, यसको अन्तर्राष्ट्रिय विस्तार र आधुनिक वैज्ञानिक अनुसन्धानले देखाएका सम्भावनालाई बुझ्ने हो भने यसलाई केवल परम्परागत उपचार पद्धति वा वैकल्पिक चिकित्साको सीमित दृष्टिकोणबाट हेर्न मिल्दैन ।
आज अकुपञ्चर विश्वका विभिन्न देशमा अभ्यास भइरहेको, अनुसन्धानको विषय बनेको र कतिपय स्वास्थ्य सेवामा पूरक उपचारका रूपमा समावेश हुँदै गएको चिकित्सा पद्धति हो।
चीनबाट विश्वसम्म
अकुपञ्चर चिकित्साले अन्तर्राष्ट्रिय पहिचान पाउनुमा सन् १९७१ को एउटा घटनालाई महत्वपूर्ण मोडका रूपमा लिइन्छ । त्यस समयमा अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’ का पत्रकार जेम्स रेस्टन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमणको समाचार संकलनका क्रममा बेइजिङ पुगेका थिए।
त्यही क्रममा उनलाई एपेन्डिसाइटिस भएपछि शल्यक्रिया गर्नुपर्यो । शल्यक्रियापछि पेटमा असहजता, दुखाइ र पेट फुल्ने समस्या देखिएपछि चिनियाँ चिकित्सकले उनलाई अकुपञ्चर उपचार प्रदान गरे । त्यसपछि उनले आफ्नो अनुभवलाई सन् १९७१ जुलाई २६ मा ‘नाउ, लेट मी टेल यु अबाउट माइ एपेन्डेक्टोमी इन पेकिङ’ शीर्षकको लेखमार्फत सार्वजनिक गरे।
उक्त लेखमा उनले अकुपञ्चरपछि पेटको असहजता र फुल्ने समस्या कम भएको अनुभव उल्लेख गरेका थिए । यो घटनाले अमेरिकी समाज र चिकित्सा क्षेत्रमा अकुपञ्चरप्रति चासो बढायो । सले अकुपञ्चरबारे थप वैज्ञानिक अनुसन्धान र अन्तर्राष्ट्रिय बहसका लागि नयाँ ढोका खोल्यो।
त्यसपछि अकुपञ्चरप्रति पश्चिमी मुलुकहरूको चासो क्रमशः बढ्दै गयो । सुरुका दिनमा यसलाई परम्परागत चिनियाँ चिकित्सा पद्धति, सांस्कृतिक अभ्यास वा वैकल्पिक उपचारका रूपमा हेर्ने गरिन्थ्यो । यसको उपचार प्रक्रिया, प्रभावकारिता र वैज्ञानिक आधारबारे विभिन्न प्रश्न उठाइन्थे । तर समयसँगै विश्वविद्यालय, अनुसन्धान संस्था र अस्पतालहरूमा अकुपञ्चरसम्बन्धी अध्ययन तथा अनुसन्धान सुरु भए ।
विशेषगरी दुखाइ व्यवस्थापन, शल्यक्रियापछिको असहजता, माइग्रेन, मांसपेशी तथा जोर्नीसम्बन्धी समस्या र वाकवाकी तथा बान्ता नियन्त्रणजस्ता क्षेत्रमा यसको सम्भावित भूमिकाबारे अनुसन्धान विस्तार भयो । यसले अकुपञ्चरलाई केवल सांस्कृतिक विरासतका रूपमा नभई वैज्ञानिक अध्ययन र चिकित्सकीय मूल्याङ्कनको विषयका रूपमा स्थापित गर्न सहयोग पुर्यायो ।
युनेस्कोबाट अन्तर्राष्ट्रिय मान्यता
अकुपञ्चरको अन्तर्राष्ट्रिय पहिचानको इतिहासमा सन् २०१० नोभेम्बर १६ महत्वपूर्ण दिन हो । यस दिन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले परम्परागत चिनियाँ चिकित्साको अकुपञ्चर तथा मोक्सिबुसनलाई मानवताको अमूर्त सांस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा सूचीकृत गर्यो ।
यसले अकुपञ्चरलाई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान, सीप, अभ्यास र सांस्कृतिक परम्पराका रूपमा अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्यो ।
यद्यपि युनेस्कोको मान्यता प्राप्त हुनु र कुनै उपचार पद्धतिको प्रत्येक चिकित्सकीय दावी वैज्ञानिक रूपमा प्रमाणित हुनु फरक विषय हुन् । सांस्कृतिक सम्पदाको मान्यताले अकुपञ्चरको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई स्थापित गर्छ भने यसको चिकित्सकीय प्रभावकारिता, सुरक्षा र उपयुक्त प्रयोगलाई छुट्टै वैज्ञानिक अनुसन्धानबाट मूल्याङ्कन गर्नुपर्छ । यही दृष्टिकोणले परम्परागत ज्ञान र आधुनिक विज्ञानबीचको सहकार्यलाई अझ महत्वपूर्ण बनाउँछ।
विश्व अकुपञ्चर दिवस नोभेम्बर २२ मा किन ?
विश्व अकुपञ्चर दिवसको इतिहास पनि अन्तर्राष्ट्रिय सहकार्य र संस्थागत विकाससँग जोडिएको छ । सन् १९८७ नोभेम्बर २२ मा विश्व अकुपञ्चर तथा मोक्सिबुसन समाजहरूको महासंघ स्थापना भएको थियो । यस संस्थाको उद्देश्य विश्वभरका अकुपञ्चरसम्बन्धी संस्था, चिकित्सक, अनुसन्धानकर्ता तथा शैक्षिक समुदायलाई एउटै अन्तर्राष्ट्रिय सञ्जालमा जोड्दै अकुपञ्चर र मोक्सिबुसनको विकास, अनुसन्धान, शिक्षा, गुणस्तर र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्नु हो ।
पछि सन् २०११ मा ब्राजिलमा आयोजित महासंघको सातौँ कार्यकारी समितिको तेस्रो बैठकले प्रत्येक वर्ष नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवसका रूपमा मनाउने निर्णय गर्यो । यसरी नोभेम्बर २२ को मिति महासंघको स्थापना दिवससँग जोडिएको छ र विश्वभरका अकुपञ्चर समुदायबीच एकता, सहकार्य तथा व्यावसायिक विकासको प्रतीक बनेको छ।
विश्व अकुपञ्चर दिवस मनाउनुको उद्देश्य कुनै एउटा देश वा चिकित्सा पद्धतिको श्रेष्ठता स्थापित गर्नु मात्र होइन । यसको मुख्य उद्देश्य अकुपञ्चरसम्बन्धी सही जानकारी जनसमुदायसम्म पुर्याउनु, वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्नु, चिकित्सकहरूको क्षमता अभिवृद्धि गर्नु, उपचारको सुरक्षा र गुणस्तर सुनिश्चित गर्नु तथा आधुनिक स्वास्थ्य प्रणालीसँग यसको उपयुक्त समन्वय विकास गर्नु हो । आज अकुपञ्चर विश्वका धेरै देशमा अभ्यास भइरहेको छ । यद्यपि सबै देशमा यसको कानुनी मान्यता, अभ्यासको स्वरूप, शिक्षा तथा नियमनको अवस्था समान छैन ।
आधुनिक विज्ञान र अकुपञ्चर
अकुपञ्चरको आधुनिक विकासमा वैज्ञानिक अनुसन्धानको भूमिका अत्यन्त महत्वपूर्ण छ । परम्परागत चिनियाँ चिकित्सा सिद्धान्तमा शरीरका विभिन्न एक्युपोइन्ट र मेरिडियन प्रणालीको अवधारणा उल्लेख गरिएको छ । आधुनिक विज्ञानले भने अकुपञ्चर उत्तेजनाले स्नायु प्रणाली, मस्तिष्क, मेरुदण्ड, जैविक रासायनिक संकेत तथा शरीरको दुखाइ नियन्त्रण प्रणालीमा पार्न सक्ने प्रभावहरूको अध्ययन गरिरहेको छ ।
अनुसन्धानका अनुसार अकुपञ्चर उत्तेजनाले शरीरमा प्राकृतिक रूपमा उत्पादन हुने इन्डोर्फिनजस्ता न्युरोकेमिकल पदार्थ तथा अन्य स्नायु-सङ्केत प्रणालीलाई प्रभावित गर्न सक्छ । यसका साथै मस्तिष्कका विभिन्न भागबीचको सञ्चार, स्नायु प्रणालीको सक्रियता र दुखाइप्रतिको शरीरको प्रतिक्रियामा हुने परिवर्तन पनि अनुसन्धानका महत्वपूर्ण विषय बनेका छन्।
विशेषगरी दीर्घकालीन दुखाइ, कम्मर दुखाइ, घाँटी दुखाइ, घुँडाको अस्थिसन्धिशोथ, माइग्रेन तथा केही प्रकारका टाउको दुखाइमा अकुपञ्चरको भूमिकाबारे विभिन्न क्लिनिकल अध्ययन भएका छन् । त्यसैगरी शल्यक्रियापछि हुने वाकवाकी तथा बान्ता नियन्त्रण र क्यान्सर उपचारका क्रममा देखिने केही लक्षण व्यवस्थापनमा पनि यसको सहायक भूमिकाबारे अध्ययन भइरहेको छ । तर सबै रोगमा अकुपञ्चर समान रूपमा प्रभावकारी हुन्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन ।
रोगको प्रकृति, बिरामीको अवस्था, उपचार विधि, प्रयोग गरिएका एक्युपोइन्ट, उपचारको अवधि र अनुसन्धानको गुणस्तरअनुसार परिणाम फरक हुन सक्छन्। त्यसैले अकुपञ्चरको प्रयोग प्रमाणमा आधारित चिकित्सा अभ्यास र बिरामीको व्यक्तिगत आवश्यकताअनुसार हुनुपर्छ।
विश्व स्वास्थ्य सङ्गठनले पनि अकुपञ्चरको बढ्दो अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्दै यसको सुरक्षित प्रयोग, सेवा प्रवाह र तालिमसम्बन्धी मापदण्ड तथा मार्गदर्शन प्रकाशित गरेको छ । सन् २०२१ मा प्रकाशित ‘अकुपञ्चर अभ्यासका लागि विश्व स्वास्थ्य सङ्गठनका मापदण्ड’ ले उपचारको प्रक्रिया, आवश्यक पूर्वाधार, संक्रमण नियन्त्रण, सुरक्षा तथा गुणस्तरीय सेवा प्रवाहका पक्षहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गरेको छ ।
त्यस्तै ‘अकुपञ्चर तालिमका लागि विश्व स्वास्थ्य सङ्गठनका मापदण्ड’ ले विभिन्न तहका अकुपञ्चर सेवा प्रदायकका लागि आवश्यक ज्ञान, सीप र तालिमका विषयमा मार्गदर्शन प्रदान गरेको छ । यसले अकुपञ्चरको विकास केवल अभ्यासको विस्तारबाट मात्र सम्भव हुँदैन, बरू योग्य जनशक्ति, वैज्ञानिक ज्ञान, उचित नियमन र सुरक्षित उपचार प्रणालीको विकास पनि उत्तिकै आवश्यक हुन्छ भन्ने सन्देश दिन्छ ।
यस सन्दर्भमा अकुपञ्चरलाई आधुनिक चिकित्साको प्रतिस्पर्धी वा विकल्पका रूपमा मात्र प्रस्तुत गर्नु उपयुक्त हुँदैन । बरू बिरामीको आवश्यकताअनुसार आधुनिक चिकित्सा र अकुपञ्चरबीच सहकार्य तथा समन्वयको सम्भावना खोज्नु आजको आवश्यकता हो ।
आपत्कालीन अवस्था, शल्यक्रिया, गम्भीर संक्रमण, क्यान्सरजस्ता रोगहरूको उपचारमा आवश्यक आधुनिक चिकित्सकीय सेवाको स्थान अकुपञ्चरले लिन सक्दैन । तर उपयुक्त अवस्थाहरूमा प्रमाणमा आधारित अकुपञ्चरलाई सहायक उपचारका रूपमा समावेश गर्न सकिन्छ । यही समन्वयात्मक दृष्टिकोण नै आधुनिक एकीकृत स्वास्थ्य सेवाको महत्वपूर्ण आधार हो।
नेपालमा अकुपञ्चरको सम्भावना
नेपालको सन्दर्भमा पनि अकुपञ्चरको महत्व र सम्भावना क्रमशः विस्तार हुँदै गएको छ । विशेषगरी दुखाइ व्यवस्थापन, पक्षघातपछिको पुनर्स्थापना, मांसपेशी तथा जोर्नीसम्बन्धी समस्या, घाँटी र कम्मर दुखाइ, माइग्रेन तथा अन्य स्नायु प्रणालीसम्बन्धी समस्यामा अकुपञ्चर सेवा लिने बिरामीहरूको चासो बढिरहेको छ ।
नेपालमा परम्परागत आयुर्वेद चिकित्सा र आधुनिक चिकित्सा सेवासँगै अकुपञ्चरलाई पनि स्वास्थ्य सेवाको महत्वपूर्ण पूरक विधिका रूपमा विकास गर्न सकिने सम्भावना छ।
नेपाल र चीनबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धले पनि अकुपञ्चर तथा परम्परागत चिनियाँ चिकित्साको विकासका लागि महत्वपूर्ण अवसर प्रदान गरेको छ । चिनियाँ चिकित्सा विशेषज्ञहरूको अनुभव आदानप्रदान, शैक्षिक तथा प्राविधिक सहकार्य, तालिम र अनुसन्धानका माध्यमबाट नेपालमा अकुपञ्चर सेवाको गुणस्तर अभिवृद्धि गर्न सकिन्छ । यसका लागि चिनियाँ विश्वविद्यालय, अस्पताल, अनुसन्धान संस्था तथा नेपाली स्वास्थ्य संस्थाबीच सहकार्य विस्तार गर्नु आवश्यक छ ।
नेपालमा अकुपञ्चरको दिगो विकासका लागि केही विषयमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । पहिलो, योग्य र दक्ष जनशक्ति उत्पादनका लागि व्यवस्थित शैक्षिक तथा तालिम प्रणाली विकास गर्नुपर्छ। दोस्रो, अकुपञ्चर अभ्यासमा स्पष्ट व्यावसायिक मापदण्ड, कानुनी व्यवस्था र नियमन सुनिश्चित गर्नुपर्छ ।
तेस्रो, नेपालकै बिरामी तथा जनसमुदायमा आधारित वैज्ञानिक अनुसन्धान, क्लिनिकल अध्ययन र प्रमाण सङ्कलनलाई प्राथमिकता दिनुपर्छ । चौथो, आयुर्वेद, आधुनिक चिकित्सा, फिजियोथेरापी तथा पुनर्स्थापना चिकित्सासँग आवश्यकताअनुसार समन्वयात्मक सेवा विकास गर्नुपर्छ । साथै, आम नागरिकमा अकुपञ्चरबारे रहेको भ्रम हटाउँदै यसको सम्भावना र सीमितताबारे सही स्वास्थ्य शिक्षा प्रदान गर्नु पनि उत्तिकै आवश्यक छ।
यस दिशामा चिनियाँ चिकित्सा चिकित्सक समाज नेपाललगायतका व्यावसायिक संस्थाहरूले वैज्ञानिक छलफल, जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिविर, चिकित्सकहरूको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानमार्फत महत्वपूर्ण भूमिका खेल्न सक्छन्। नेपालमा अकुपञ्चरलाई व्यवस्थित, सुरक्षित, अनुसन्धानमा आधारित र जनउत्तरदायी स्वास्थ्य सेवाका रूपमा स्थापित गर्नु आजको आवश्यकता हो।
प्रतिक्रिया 4