हरेक महिना स्त्रीशरीरले एउटा स्वाभाविक कथा भनिरहेको हुन्छ । त्यो कथा रगतको भाषामा व्यक्त हुन्छ, कहिलेकाहीँ पीडाको अनुभूतिसँग जोडिन्छ । र शरीरलाई नयाँ सम्भावनाका लागि तयार पार्दै अघि बढ्छ । महिनावारी भनेको केवल रगत बग्ने प्रक्रिया होइन ।
यो स्त्रीशरीरको स्वाभाविक जैविक चक्र हो । तर बिडम्बना, यही प्राकृतिक प्रक्रियालाई लिएर हाम्रो समाजमा अझै पनि लाज, डर, भ्रम र अनेकौँ गलत मान्यताहरू कायम छन् । महिनावारीबारे जान्नु भनेको आफ्नै शरीरलाई बुझ्नु र त्यसको स्वास्थ्यप्रति सचेत हुनु हो ।
महिनावारीमा बग्ने रगत सामान्य घाउबाट निस्कने रगत जस्तो होइन । यसमा रगतसँगै पाठेघरको भित्री तहका कोष र तन्तु तथा अन्य तरल पदार्थ मिसिएका हुन्छन् । त्यसैले यसको रङ गाढा रातो, चम्किलो रातो वा कालो चोक्टा जस्तो हुन सक्छ । महिनावारीको सुरु र अन्त्यतिर रगत कालो देखिनु सामान्य हो ।
रगत नमेकाले त्यस्तो देखिने हुन्छ ।
महिनावारीमा रगतको मात्रा पनि सबैमा समान हुँदैन । कसैमा कम हुन्छ भने कसैमा तुलनात्मक रूपमा बढी हुन सक्छ । सामान्यतया महिनावारी दुईदेखि सात दिनसम्म रहन सक्छ । कहिलेकाहीँ केही रगतका थोपाहरू मात्र देखिनु पनि सामान्य हो ।
तर रगत अत्यधिक बग्नु, पटकपटक चोक्टाहरू जस्तो निस्कनु, सात दिनभन्दा बढी दिनसम्म रक्तश्राव भइरहनु राम्रो होइन । यसले दैनिक कामकाज प्रभावित हुनुका साथै शरीरलाई कमजोर बनाउँछ । विशेषगरी लगातार धेरै रगत बग्दा रक्तअल्पता हुन सक्छ । त्यसैले महिनावारीको रगतको मात्रा मात्र होइन, त्यसले शरीर र दैनिक जीवनमा पारिरहेको प्रभावलाई पनि ध्यान दिनुपर्छ ।
महिनावारीमा रगत किन बग्छ ?
गर्भधारणका लागि शरीरले गर्ने मासिक तयारीमा महिनावारीको कथा लुकेको हुन्छ । हरेक महिना महिलाको शरीरले सम्भावित गर्भधारणका लागि पाठेघरको भित्री तहलाई बाक्लो बनाउँछ । इस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हार्मोनले यो प्रक्रियालाई नियन्त्रित गर्छ । अण्डाशयबाट निस्किएको अण्डा निषेचित भएर गर्भ नरहेमा यी हार्मोनको सन्तुलन बिग्रन्छ । र पाठेघरको भित्री तह टुक्रिन्छ । यो प्रक्रियासँगै रगत तथा ती टुक्रिएका तन्तु योनीमार्ग हुँदै बाहिर निस्कन्छन् । यही प्रक्रियालाई महिनावारी भनिन्छ ।
अर्थात महिनावारी शरीरको कुनै खराबी होइन । न त शरीरभित्र जम्मा भएको फोहोर वा अशुद्ध रगत बाहिर निकाल्ने प्रक्रिया नै हो। यो प्रजनन प्रणालीको स्वाभाविक जैविक चक्र हो । गर्भधारण नभएको अवस्थामा पाठेघरको भित्री तह टुक्रिएर नयाँ चक्रका लागि शरीर तयार हुनु यसको मूल प्रक्रिया हो ।
तर सबै महिनावारी नियमित हुँदैनन् । कहिलेकाहीँ महिनावारी ढिलो हुन सक्छ, अनियमित हुन सक्छ वा केही समयका लागि रोकिन पनि सक्छ । महिनावारी रोकिनुको एउटा प्रमुख कारण गर्भ हो । त्यसबाहेक अत्यधिक मानसिक तनाव, तौलमा अचानक परिवर्तन, अत्यधिक शारीरिक व्यायाम, पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओडी), थाइरोइडसम्बन्धी समस्या, केही औषधिको प्रयोग तथा स्तनपान आदिका कारण महिनावारी प्रभावित हुन सक्छ । किशोरावस्थाको सुरुवाती वर्ष र रजोनिवृत्तिको नजिकको समयमा पनि महिनावारी अनियमित हुन सक्छ ।
महिनावारी नहुनुलाई सधैँ सामान्य ठानेर बस्नु हुँदैन । पन्ध्र वर्षको उमेरसम्म महिनावारी सुरु नभएमा, पहिले नियमित भइरहेको महिनावारी तीन महिनाभन्दा बढी समयसम्म रोकिएमा वा महिनावारीको चक्रमा असामान्य परिवर्तन देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्छ । विशेषगरी ४० वर्षको उमेरअघि महिनावारी स्थायी रूपमा रोकिनु वा रजोनिवृत्तिका लक्षण देखिनु पनि चिकित्सकीय मूल्याङ्कनको विषय हो । महिनावारीको अनियमितता कहिलेकाहीँ शरीरभित्र भइरहेको हर्मोनल वा अन्य स्वास्थ्य समस्याको संकेत हुन सक्छ ।
महिनावारीसँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष यसको सरसफाइ र व्यवस्थापन हो । सफा प्याड, ट्याम्पोन वा उपयुक्त महिनावारीजन्य सामग्रीको प्रयोग गर्ने, आवश्यकताअनुसार नियमित परिवर्तन गर्ने, प्रयोगपछि सुरक्षित रूपमा विसर्जन गर्ने र सरसफाइमा ध्यान दिने बानी आवश्यक छ ।
महिनावारी केवल व्यक्तिगत स्वास्थ्यको विषय होइन । यो किशोरीको विद्यालय उपस्थिति, महिलाको कार्यक्षमता, पारिवारिक व्यवहार, सामाजिक समानता र स्वास्थ्य सेवामा पहुँचसँग पनि जोडिएको छ । महिनावारीका बेला आवश्यक सरसफाइ सामग्री, सफा पानी, गोपनीयता र सुरक्षित शौचालय उपलब्ध नहुँदा विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका किशोरी र महिलाले थप कठिनाइ भोग्नुपर्छ । त्यसैले महिनावारी स्वास्थ्यलाई व्यक्तिगत जिम्मेवारीमा मात्र सीमित नगरी परिवार, विद्यालय, समुदाय र राज्यको साझा दायित्वका रूपमा बुझ्नुपर्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, महिनावारीको पीडा र असहजतालाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन । हल्का पेट दुख्नु वा कम्मर दुख्नु धेरैमा देखिन सक्छ । तर असह्य पीडा, अत्यधिक रक्तश्राव, महिनावारीबीचमा रगत देखिनु वा दैनिक जीवन नै प्रभावित हुने अवस्था भएमा चिकित्सकीय जाँच आवश्यक हुन्छ । सबै पीडा सहनैपर्ने हुँदैनन्, सबै अनियमितता सामान्य हुँदैनन् ।
महिनावारी रगतको कथा हो, तर यो लाजको कथा होइन । यो शरीरको भाषा हो, कमजोरीको संकेत होइन । यसलाई बुझ्नु, स्वीकार गर्नु र सम्मान गर्नु नै महिनावारी स्वास्थ्यप्रतिको पहिलो कदम हो । छोरीलाई महिनावारीबारे खुलेर सिकाऔँ, आमालाई आफ्ना समस्या भन्न सहज वातावरण दिऔँ र महिलाको अनुभवलाई सामान्य भन्दै पन्छाउनुको सट्टा ध्यानपूर्वक सुनौँ । महिनावारीबारे खुलेर कुरा गर्न सक्ने समाजले नै महिलाको स्वास्थ्य, सम्मान र समानताको वास्तविक अर्थ बुझ्न सक्छ ।
प्रतिक्रिया 4