१ असोज, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव एस जयशंकर र एकीकृत नेकपा माओवादी नेतृत्वबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत जयशंकरलाई गलत समयमा नेपाल भ्रमणमा आएको प्रतिक्रिया दिएका छन् ।
भारतीय विदेश सचिव जयशंकरले संविधान निर्माणबारे चासो व्यक्त गरे । साथै उनले तराई मधेसमा भइरहेको आन्दोलनबारे चासोसँगै चिन्ता व्यक्त गरेका थिए ।
जवाफमा प्रचण्डले विदेश सचिव जयशंकरलाई नेपाल भ्रमणको टाइमिङ गलत भएको बताएका छन् । प्रचण्डको भनाइ उद्धृत गर्दै स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरसँग भने-‘कि १५ दिन पहिले आउन पथ्र्यो कि १५/२० दिन ढिला आएको भए हुन्थ्यो । यो टाइमिङ गलत भो ।’
प्रचण्डले तराई मधेसमा भइरहेको आन्दोलनबारे विदेशसचिवले राखेको चासो सम्बोधनको प्रयास गरेका छन् । तराई मधेसका जनताको जायज माग सम्बोधनका लागि राजनीतिक प्रतिवद्धता व्यक्त गर्ने र त्यसलाई संविधान संशोधनमार्फत सम्बोधन गर्ने उनले बताएका छन् ।
प्रचण्ड निवास लाजिम्पाटमा झण्डै ४५ मिनेट भएको भेटमा दुई देशबीचको सम्वन्ध सुधारबारे पनि छलफल भएको स्वकीय सचिव खड्काले बताए ।
भेटमा वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश सहभागी थिए । यस्तै काठमाडौंस्थित भारतीय राजदूत रन्जित रे पनि सहभागी थिए ।

प्रतिक्रिया 4