+
+

प्रधानमन्त्री निर्वाचित भएकै दिन ओलीलाई भारत भ्रमणको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते २२:५२

KP oli & Narendra Modi telephone conversation

२४ असोज, काठमाडौंं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर बधाइ दिएका छन् ।

मोदीले आफ्नो नेपाली समकक्षी ओलीलाई भारत भ्रमणको निम्तो समेत दिएका छन् । भारतीय प्रधानमन्त्री कार्यालयको आधिकारिट ट्वीटर पेजमा ओलीसँगको फोन सम्बादमा मोदीले भारत भ्रमणमा निम्तो दिइएको जानकारी दिइएको छ ।

यसैबीच ओलीलाई बधाई दिन नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताई एमाले केन्द्रीय कार्यालय धुम्बाराही पुगेका छन् । प्रधानमन्त्री निर्वाचित भए लगत्तै ओली संसद भवन नयाँ बानेश्वरबाट सिधै पार्टी कार्यालय गएका हुन् ।

मिलेर काम गरौं: भारत

भारतीय विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै मोदीले नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलेर काम गर्ने प्रस्ताव गरेको जनाएको छ ।

प्रजातान्त्रिक र विधिसम्मत चुनावबाट ओली प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै बधाइ दिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा शान्ति र स्थायित्वका लागि ओलीले समाजका सबै वर्गलाई मिलाएर हिँड्ने अपेक्षा तथा आशा भारतीय प्रधानमन्त्रीले व्यक्त गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । ‘नेपाल सरकारले देशका राजनीतिक समस्याहरुलाई वार्ता र मेलमिलापको माध्यमबाट सम्वोधन गर्नेमा हामी विश्वस्त छौं,’ विदेश मन्त्रालयले भनेको छ ।

भारत नेपालको शान्ति, प्रगति र सम्वृद्धिको पक्षमा उभिँदै आएको र यही भारतको हितमा हुने कुरा प्रधानमन्त्रीले व्यक्त गरेको विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाली जनताको चाहना अनुसार नेपालको शान्ति, स्थायित्व र सामाजिक-आर्थिक विकासका लागि सबै प्रकारको सहयोग भारतले जारी राख्ने छ ।’

हाल सीमाक्षेत्रमा जारी अघोषित नाकाबन्दीको विषयमा भने विज्ञप्तिमा कुनै चर्चा गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?