+
+

राजधानीमा दसैँको चहलपहल बढेन

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ११:०२

१ कात्तिक, काठमाडाैं । हिन्दूहरुको महान् चाड दसैँ सुरु भइसकेको भए पनि किनमेल गर्नेको चहलपहल त्यति बढ्न सकेको छैन ।

काठमाडौँको मुटुमा दशैँको किनमेल गर्ने मानिसको भीड देखिए पनि काठमाडौँकै अन्य भागहरु पुतलीसडक, बागबजार, सामाखुसी, गोङ्गबु, लैनचौर, लगन आदि क्षेत्रमा अझै चहलपहल सुरु हुन सकेको छैन ।

नेवारहरुका लागि दसैँमा पूजा गर्न नभई नहुने पूजाका सामानसहित सबथोक पाइने भएकाले असन, इन्द्रचोक, हनुमानढोका र वसन्तपुरमा किनमेल गर्ने मानिसको सङ्ख्या अन्य क्षेत्रको तुलनामा बढी पाइन्छ ।

यी क्षेत्रमा भूकम्पको प्रभाव पनि प्रष्ट देख्न सकिन्छ । भूकम्पको पीडाका बीच चर्केको घरपसलमा बसेर आफ्नो व्यापार गरिरहेका व्यापारी र त्यही पसलमा त्रासका बीच किनमेल गर्ने ग्राहकको केही चहलपहलले भूकम्पको प्रभाव अझै देखाइरहेको छ ।

बजारभाउमा अस्वाभाविक मूल्य बृद्धि र भारतबाट भएको अघोषित नाकाबन्दी दसैँ मनाउने हिन्दूहरुका लागि अर्को दर्द बनेको त्यहाँ किनेमेलका लागि आएका कृष्ण रुपाखेतीको भनाइ छ ।

घरको आँगनमा प्रवेश गरेको बडा दशैंसँगै जोडिएको सन्नाटा काठमाडौँकै त्यौड, प्याफल, मखन, वसन्तपुर पछाडिका गल्ली, भेँडासिंह, जनबहाल आदि ठाउँमा भूकम्पबाट चर्केर टेको लगाएको घरमा बस्न बाध्य परिवारको पीडाले स्पष्ट हुन्छ ।

असनमा दसैँका लागि पूजाका सामान बिक्री गर्दै आउनुभएका सुमन श्रेष्ठ भभन्छन्- ‘पोहोरको तुलनामा यो वर्ष दसैँ सुरु भए पनि किनमेल गर्न आउने मानिसको चहलपहल बढ्न सकेको छैन ।’

गोरखाबाट काठमाडौँमा बसोबास गर्दै आउनुभएका चन्द्र खड्काले भने- यस पटक पोहोरको तुलनामा दसैँ र तिहारका लागि आवश्यक वस्तुको भाउ निकै महँगो भएको छ । सरकारले मूल्य वृद्धिको नियन्त्रणतर्फ चासो नै नदिएको उनको गुनासो थियो ।

दैनिक जीविकोपार्जन गर्नका लागि नभइनहुने रहरको दालको मूल्य वृद्धि भई एक केजीको रु २४० पुगेको छ । गत वर्ष यसको मूल्य रु १८० थियो । त्यस्तै मासको दाल प्रतिकेजी रु २०० पुगेको छ भने हरियो सिमी प्रतिकेजी रु ९० रहेको पाइयो ।

भर्खरै दसैँका लागि विदेशबाट फर्केका अमर तामाङ दसैँ रमाइलो नै लागिरहेको बताउनुहुन्छ । उहाँलाई नेपालमा भएको सामान्य मूल्य वृद्धिले खासै फरक पार्दैन ।

भृकुटीमण्डपभित्र जुत्ता मेलामा मानिसको चहलपहल सामान्य रहेको छ भने भृकुटीमण्डपको खासा बजार, सुन्धाराको मल आदि क्षेत्रमा पनि मानिसको भीड सामान्य देखिए पनि पोहोरको तुलनामा चहलपहल बढ्न सकेको छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?