+
+
Shares

काठमाडौंमै एकमुठा सागभन्दा कपडा सस्तो ! १० रूपैयाँमा सर्ट बेचिँदै

रासस रासस
२०७३ असार ११ गते ११:०७
cloths-shirt
११ असार, काठमाडौं । तपाईंलाई सुन्दा अचम्म लाग्ला, एकमुठा सागभन्दा कपडा सस्तो हुन्छ भनेर । तर सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा सागभन्दा कपडा सस्तोमा पाइन्छ ।

अहिले बजारमा एकमुठा सागको २० रूपैयाँ पर्छ तर उक्त पसलमा एउटा सर्ट भने १० रूपैयाँ मा नै पाउन सकिन्छ । समाजमा केही गरौँ भन्ने भावनाका साथ केही वर्ष कोरिया बसेर फर्केका पर्यटन व्यवसायी चीजमान गुरुङको अवधारणाअनुरुप पुराना सामान पुनः प्रयोग एवम् प्रशोधन गरी उक्त मूल्यमा बेच्ने गरिएको हो ।

सुखावती प्रतिष्ठानमार्फत सामाखुसीको टाउनप्लानिङमा पुराना कपडालाई पुनः प्रयोग गर्ने उद्देश्यका साथ उक्त पसल सञ्चालनमा ल्याइएको छ । विभिन्न ११७ वटा सामान पुनः प्रयोग गरी १० देखि एक हजार रूपैयाँसम्म बेच्ने गरेको छ ।

समाज कल्याण परिषद्मा दर्ता भई शिक्षा र महिला उद्यमशलिता निर्माणका लागि उक्त प्रतिष्ठानले काम गर्दै आएको छ । सुखावती फाउन्डेसनका उपाध्यक्षसमेत रहनुभएका गुरुङले धन कमाएर वा गाढी चढेर मात्र सुख नहुने भन्दै समाजमा केही गरौँ भन्ने उद्देश्यका साथ उक्त प्रतिष्ठान स्थापना गरि समाजसेवा गरेको बताए।

तपाईंको पुरानो सामान कसैको लागि नयाँ हुन सक्छ । माया बाँडौ खुसी बढाउँ भन्ने नाराका साथ सामाखुसी टाउनप्लानिङमा स्थापना भएको उक्त प्रतिष्ठानले भूकम्पमा निधन भएका परिवारको छोराछोरीलाई समेत शिक्षादीक्षा दिँदै आएको छ ।

प्रतिष्ठानले स्वदेशमा कसरी रोजगारी स्थापना गर्न सकिन्छ भन्ने उद्देश्यका साथ प्रयोग गर्न मिल्ने सामानलाई प्रयोग गरी दुखी जनताको सेवा गर्दै आएको छ । सो प्रतिष्ठानले मर्मत गर्न मिल्ने सामानलाई मर्मत गर्ने तथा मर्मत गर्न नमिल्ने सामानलाई प्रयोग नगर्ने गरेको छ ।

घर, कार्यालयमा जुनसुकै सामान प्रयोग गर्दा किफायती उपयोग गर्नुपर्छ । प्रशोधन, पुनः प्रयोग गर्न सकिन्छ भने पुनः प्रयोग गर्नुपर्छ भन्ने यो संस्थाको मूलमन्त्र हो । गत वर्षमात्र उक्त प्रतिष्ठानले एक वर्षमा एक हजार ५०० केजी कपडा ल्याएकोमा २५ प्रतिशत प्रयोगमा ल्यायो । विभिन्न मेला र ठाउँमा राखिएको बिक्री कक्षबाट एक लाख २० हजार रूपैयाँ आम्दानी भएको सुखावती फाउन्डेसनका कोषाध्यक्ष कमला गुरुङले बताउनुभयो । उहाँले सो पसलमा स्वयम्सेवकका रुपमा काम गर्नुभएको छ ।

उनीजस्तै केशकुमारी राना, लक्ष्मीदेवी गुरुङ, रञ्जना तामाङ, कल्पना गुरुङ, संगु सुब्बाले पनि स्वयम्सेवकका रुपमा काम गरेका छन् । “दश बीस रुपैयाँमा साग पनि पाइँदैन, कपडा कसरी पाइन्छ भनेर किनमेल गरेर जान्छन्,” कोषाध्यक्ष गुरुङले भने ।

यस्तो पसल उपत्यका बाहिर फैलाउने उद्देश्य रहेको प्रतिष्ठानका महासचिव राजेन्द्रबहादुर लामाले बताए । “खाली खुट्टा तरकारी बेच्दै आएको व्यक्तिदेखि माग्दै आएको व्यक्तिसम्मले १० रूपैयाँमा जुत्ता र १० रूपैयाँको पाइन्ट लैजाने गरेका छन्,” लामाले भन्नुभयो । कपडा, भान्साका सामान, विद्युतीय सामग्री, गमला र प्रयोगमा आउन सक्ने जुनसुकै सामान त्यहाँ बेचिन्छ ।

उक्त पसलमा १० देखि ८० रूपैयाँ सम्मका सर्ट तथा  ४० देखि १०० रूपैयाँ सम्मको जिन्सपाइन्ट बेच्न राखिएका छन् । प्रतिष्ठानमा १३ स्वयम्सेवक छन् । दुई जनाले रोजगारी पाएका छन् ।

प्रतिष्ठानले भूकम्प गएको समयमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, काभ्रेका पाँच हजारभन्दा बढी घरपरिवारलाई ब्युटिफुल स्टोर कोरियाको सहयोगमा सिरक वितरण गरेको थियो । ह्याप्पी फ्याक्ट्री कोरियाको सहयोगमा नुवाकोटको गामबँेसी निम्न माध्यमिक विद्यालयको भवनसमेत निर्माण गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?