
३ कात्तिक, काठमाडौं । नक्साल भाटभटेनीस्थित अनमोल स्विट्स हाउसका मिठाईमा झिँगा र साङ्ला भेटिएका छन् ।
तिहार नजिकिँदै गर्दा मिठाई पसलहरुमा अनुगमन थालेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको टोली बुधबार मध्याहृन अनमोल स्विट्स हाउस पुगेको थियो । अनुगमनका क्रममा अनमोल स्विट्सको भान्छा अत्यन्तै फोहोर भेटिएको छ ।
भान्छा कोठा अत्यन्तै फोहर र त्यहाँ उत्पादित परिकार दुषित भएको अवस्थामा भेटिएको अनुगमन टोलीमा संलग्न उपभोक्ताकर्मी माधव तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार भान्छा कोठामा बनाइरहेको खाद्य बस्तुमा झिँगा र साङ्ला मरेको तथा भुसुना भन्केको अवस्थामा थिए । साथै बिक्रीका लागि सजाएर राखिएका मिठाइका परिकारमा समेत झिँगा र साङ्ला डुबेका र भुसुना भन्केको भेटिएको छ ।
अनमोल स्विट्सबाट बिक्री भइरहेको खाद्य बस्तुले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै अनुगमन टोलीले ल्याव परीक्षणको लागि नमूना संकलन गरेको छ । साथै १४ केजी लालमोहन, १४ केजी रसवरी र २ केजी दहीमलाई नष्ट गरिएको छ ।
अनुगमन टोलीले सञ्चालकलाई ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिँदै अनमोल स्विट्स हाउसमा शिलबन्दी गरेको छ ।
प्रतिक्रिया 4