+
+

युवा संघको बैठकमा ‘हात हालाहाल’

एमालेको नियमावली र युवा संघको विधान बाझिँदा लफडा

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २६ गते १६:२०

२६ माघ, काठमाडौं । संस्थापन पक्ष र माधव नेपाल पक्षबीचको विवादका कारण एमालेसम्वद्ध युवा संघको केन्द्रीय कमिटी बैठक चार दिनदेखि अवरुद्ध भएको छ । राजिव पहारी अध्यक्ष भएपछि पहिलो पटक करीव डेढ वर्षमा डाकिएको बैठक शुरुकै दिन हात हालाहाल भएपछि अवरुद्ध अवस्थामा छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा अध्यक्ष ओलीले उदघाटन गरेको बैठकमा माधव नेपाल पक्षले अन्तरजिल्ला कमिटीहरु भंग गर्न माग गरेपछि विवाद शुरु भएको थियो ।

नेपाल पक्षले पार्टीको नियमावलीले अनेरास्ववियु बाहेक कुनै पनि जनसंगठनमा सम्पर्क कमिटीहरु नरहने भनेकाले नियमावली विपरीतको अन्तरजिल्ला कमिटी भंग हुनुपर्ने अडान राखेको छ ।

अन्तरजिल्लाका इञ्चार्ज तथा युवा संघका केन्द्रीय सदस्य क्षितिज थेबेले बैठकमा रिपोर्टिङ गर्न थालेपछि बैठकको शुरुमै नेपाल पक्षले अवैध कमिटीको रिपोर्ट नसुन्ने भन्दै बैठक बहिस्कार गरेको स्रोतले जनाएको छ । त्यस क्रममा हात हालाहाल समेत भएको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए ।

यसबीचमा अध्यक्ष पहारीले विवाद मिलाउन पटक-पटक स्थायी कमिटीको बैठक राखे पनि अझै टुंगो लागेको छैन । नेपाल पक्षधर युवा संघ उपाध्यक्ष दिलकुमारी पन्तले पार्टीको नियमावलीसँग बाझिएका कमिटी स्वतः भंग हुने भएकाले आफूहरुले नयाँ विवाद नझिकेको बताइन् । उनका अनुसार यो विषय शेरधन राई इञ्चार्ज भएकै समयमा टुंगिएको हो ।

हेर्नुहोस् एमालेको सर्कुलर 

युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले भने संगठन विभागले युवा संघको विधानअनुसार चल्नू भनेर चिठी पठाएकाले अन्तरजिल्लाको विषयमा थप विवाद आवश्यक नरहेको बताए ।

उनले भने- ‘पार्टीको नियमावली आउनुअघि नै युवा संघको विधानमै अन्तरजिल्लाको व्यवस्था गरियो, अहिले बीचमा आएर भंग गर्दा करिव २ हजार कार्यकर्ता जिम्मेवारीविहीन हुन्छन् । संगठन विभागले पनि विधान अनुसार नै गर्नु भनेर पत्र पठाइसकेको छ ।’

युवा संघको अन्तरजिल्ला कमिटी अन्तर्गत विभिन्न जिल्लाबाट काठमाडौंमा आएर बसोबास एवं र पेशा व्यवसाय गर्ने करीव १५ सय कार्यकर्ता संगठित छन् । केन्द्रीय अन्तरजिल्ला कमिटीका अध्यक्ष जय गुरुङका अनुसार ७२ वटा अन्तरजिल्ला कमिटी गठन भइसकेका छन् ।

विवादको चुरो बेग्लै

बैठकमा अन्तरजिल्ला कमिटीको बाहना झिकिए पनि यो विवादको चुरोचाहिँ युवा संघको आगामी महाधिवेशनसँग जोडिएको छ । युवा संघको महाधिवेशन आगामी वैशाख तेस्रो सातासम्म गर्न पार्टीका मोर्चा संगठन इञ्चार्ज गोकर्ण विष्टले निर्देशन दिइसकेका छन् । र, यो बैठकले महाधिवेशनको मिति तोक्नेछ ।

महाधिवेशनमा अन्तरजिल्लाबाट करीव ८० जना प्रतिनिधि जान्छन् । ती मध्ये ९० प्रतिशत प्रतिनिधि संस्थापन पक्षका हुने भएकाले पनि महाधिवेशनअघि नै यो कमिटी भंग गराउन नेपाल पक्षले जोड गरेको छ ।

तर, उपाध्यक्ष पन्तले पार्टी नियमावलीसँग बाझिएका कमिटी स्वतः भंग हुने भएकाले यसमा महाधिवेशनको जोडघटाउ नरहेको बताइन् ।

अन्तरजिल्ला अध्यक्ष गुरुङले भने पार्टीको निर्देशनअनुरुप आगामी महाधिवेशनले पार्टीको नियमावलीअनुरुप विधान संशोधन गरेर अन्तरजिल्ला कमिटीहरु खारेज गर्ने भनिसकेको अवस्थामा दुई महिनाका लागि सयौं कार्यकर्तालाई युवा संघबाट बाहिर पठाउन न्यायोचित नहुने बताए ।

तर, पन्त पक्षले भने संगठन विभाग सचिव ज्ञानवहादुर भुजेलले पठाएको पत्रविरुद्ध पार्टी केन्द्रमा उजुरी हालेको बताइन् । पार्टीले नियमावली संशोधन नगरेसम्म व्यक्तिले पठाएको पत्रको मान्यता नहुने उनले बताइन् ।

युवा संघमा हाल १७९ सदस्यीय केन्द्रीय कमिटी छ । सिंगो कमिटीमा नेपाल पक्ष अल्पमतमा छ । पन्तको पक्षमा करीव ५० सदस्य रहेको बताइन्छ । तर, उपाध्यक्ष पन्तले भने आफूहरुले संख्या भन्दा पनि पार्टीको विधानको कुरा गरेको बताइन् । उनले बहुमतका आधारमा निर्णय गरिए दुर्भाग्यपूर्ण हुने चेतावनीसमेत दिइन् ।

अध्यक्ष पहारीले विवाद मिलाउन हदैसम्म प्रयास भइरहेको बताए । उनले अन्तरजिल्लाको प्रकरण पार्टीले टुंगो लगाउने भन्दै युवा संघ इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले पार्टीको निर्णय सुनाउने जानकारी दिए ।

विवादका कारण बैठक बस्न नसकेपछि युवा संघका सदस्यहरु दिनभरि घाम तापेर बसेका छन् । काठमाडौं बाहिरका कतिपय सदस्यहरु खर्च सकिएको भन्दै निराश भएर फर्किएको केन्द्रीय सदस्य सुमित्रा थापाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?