हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलासँग निर्माता, निर्देशक तथा कलाकार निर्मल शर्माको सम्बन्ध जोडिएको १५ बर्ष भयो । निर्मल दीपक र दीपालाई ‘गुरु बा र आमा’ भन्छन् ।
निर्मललाई हाँस्य सिरियल ‘तितो सत्य’बाट दीपक र दीपाले नै ‘गैडा’ उप-नामको परिचय दिएका हुन् । निर्मलले निर्माण गरेका केही चलचित्र असफल भएका थिए । दीपक र दीपासँग जोडिएपछि उनी सफल नै सफल भए ।
दीपक र दीपासँग मिलेर उनले ‘६ एकान ६, वडा नम्बर ६ र छक्का पन्जा’मा लगानी गरे । भलै, लगानी कती हो खुलेको छैन । तर, उनी कार्यकारी निर्माताको रुपमा आफ्ना ‘गुरु बा र आमा’सँग सहकार्य गरिरहेका थिए ।
तर, अब उनको र दीपक-दीपाको सहकार्य तोडिएको छ । चलचित्र ‘छक्का पन्जा २’को निर्माण टिममा निर्मल हुने छैनन् । आखिर, किन तोडियो त १५ बर्षदेखि जोडिएको सम्बन्ध ?
यस बिषयमा हामीले निर्माता तथा कलाकार निर्मल शर्मालाई सोध्यौ कि, तपाइ र दीपक-दीपाको सहकार्य तोडिएको हो ? यस बिषयमा उनले राखेको भनाई उनकै शब्दमाः
त्यस्तो खास केही पनि होइन । उहाँहरु मेरो ‘गुरु आमा र बा’ हुनुहुन्छ, मेरो आदर र सम्मान सधै रहनेछ । म आफै अर्को चलचित्र निर्माण गर्दैछु । उहाँहरु पनि अर्को पार्टनरसँग चलचित्र निर्माण गर्दै हुनुहुन्छ । हामी आ-आफ्नो तरिकाले काम गर्दैछौ । म अहिले २ वटा चलचित्र निर्माणमा लागेको छु । ‘डन्डीबियो’ भन्ने चलचित्रलाई म आफै निर्देशन गर्नेछु । ‘हिल जुत्ता’का लागि भने निर्देशक खोज्दैछु । दीपक र दीपासँग मैले १५ बर्ष सँगै काम गरेको हुँ, फेरि पनि गर्न सकिन्छ ।
म अब सानो चलचित्र बनाउँछु । बाहिरी ब्यानरको चलचित्र निर्देशन गर्दिनँ । सानो बजार खोज्ने कोशिश गर्छु । म चलचित्रसँगै म्यूजिक भिडियो निर्माण, सिरियल निर्माण पनि गर्दैछु । पैसाका लागि मात्र काम गर्दिनँ, आरामले काम गर्छु । चलचित्र पनि कमर्सियल भन्दा केही फरक नै गर्छु । भोली बुढो भएपछि मलाई उपचार खर्च माग्नुपर्ने अवस्था नआओस् । म विदेश जान्नँ, धेरै देशको भिसा भएपनि यही नै बस्छु । म कहिल्यै फिल्मी हुन जानिनँ, सकिनँ । एउटा चलचित्रमा सहकार्य नगर्दैमा सम्बन्ध नै तोडिएको भनेर नवुझ्न म सबैलाई आग्रह गर्दछु ।
दीपक-दीपाले निर्माण गर्ने चलचित्र ‘छक्का पन्जा २’को छायांकन वैशाख १४ गतेबाट सुरु हुँदैछ ।
प्रतिक्रिया 4