८ जेठ, काठमाडौं । व्यवस्थापिका संसदको बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ ।
व्यवस्थापिका संसदको सोमबार बसेको बैठकमा राष्ट्रपति विद्या भण्डारीले बजेट अधिवेशन आहृवान गरेको पत्र सभामुख ओनसरी घर्ती मगरले पढेर सुनाएपछि संसदको बजेट अधिवेशन औपचारिक रुपमै सुरु भएको हो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा नेपालको संविधानको धारा २ सय ९६ को उपधारा ६ बमोजिम संसदको बजेट अधिवेशन आहृवान गरेका हुन् ।
गामी आर्थिक वर्षको बजेटको तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल गर्न मंगलबार ११ बजे संसद बैठक पनि बोलाइएको छ ।
सभामुख घर्ती मगरले अर्थ मन्त्रालको आग्रहमा मंगलबार आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूचि तय गरिएको पनि स्पष्ट पारिन् ।
व्यवस्थापिका संसदको नियमावली २०७३ मा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नुपर्ने व्यवस्था गरिएको छ ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट पेश हुनेछ । सरकारले बजेट पेश गर्नु अघि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित गरेर आइतबार नै राष्ट्रपति विद्या भण्डारी समक्ष पेश गरिसकेको छ ।
सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिइएको छ ।
प्रतिक्रिया 4