+
+

वाम गठबन्धनको नतिजा अपेक्षितः सुरेन्द्र पाण्डे

सुवास पण्डित सुवास पण्डित
२०७४ मंसिर २६ गते ९:०३

२६ मंसिर, चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् चितवन क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सांसद सुरेन्द्र पाण्डेले वाम गठवन्धनले देशव्यापी रुपमा प्राप्त गरेको परीणाम अपेक्षित भएको बताएका छन् ।

निर्वाचनमा विजय भएपछि अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले केही प्राविधिक विषयको व्यवस्थापन गर्न नसक्दा गठबन्धन चुकेपनि समग्रमा नतिजा सन्तोषजनक र अपेक्षित भएको बताए ।

दुई ठूलो वामपन्थी पार्टी मिलेर चुनावमा गएपछि यो नतिजा आउनु स्वभाविक भएको पाण्डेको भनाइ छ । ‘चुनाव चिह्न एउटै नहुनु, कतिपय क्षेत्रमा दलीय प्रतिशत मिलाउनकै लागि जनमतको ख्याल नगरी उम्मेदवारी दिनु जस्ता विषयले पनि केही स्थान गुमेका छन्,’ नेता पाण्डेले भने, ‘आगामी दिनमा यस्ता समस्या रहने छैनन् ।’

प्रदेश नम्वर २ को नतिजा वाम गठबन्धनका लागि त्यति सुखद नरहेको पाण्डेले बताए । ‘यो समिक्षाको विषय बन्यो, केही स्थानमा प्राविधिक समस्या पनि भए, समग्रमा हामीले प्रदेश नम्बर २ मा केही मेहेनत गर्नुपर्ने नै देखियो,’ नेता पाण्डेले भने ।

चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट अझै धेरै मतान्तरले निर्वाचन जित्ने अपेक्षा रहेको तर केही ठाउँमा मत बिगि्रएको उनको भनाइ छ । पाण्डेले चिरपरिचित प्रतिद्वन्द्वी राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतको अन्तरले पराजित गरेका थिए । बुर्लाकोटीलाई ३६ हजार ४ सय ५४ मतमा सीमित गर्दै पाण्डे ५० हजार ८ सय ९६ मतसहित विजयी भए ।

पाण्डेका १० योजना, कयरखोला तटबन्ध प्राथमिकतामा

विजयी उम्मेदवार सुरेन्द्र पाण्डेले वर्षातको समयमा निकै त्राहीत्राही बनाउने कयर खोलाको तटवन्धलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । ‘मेरो निर्वाचन क्षेत्रका अधिकांश बस्ती जोगाउन कयरको तटवन्ध नै पहिलो प्राथमिक काम हो,’ पाण्डेले अनलाइनखबरसँग भने, ‘यसो हुँदा मात्रै जनता ढुक्कले बस्न र निदाउन पाउँछन् ।’

सयौं हेक्टर जमिन कयरले ध्वस्त पार्ने देखिएकाले धेरै बजेट हालेर तटवन्ध गरिने उनले बताए ।

पाण्डेले खैरहनी नगरपालिकामा १ सय बेड क्षमताको अत्याधुनिक बाल अस्पताल निर्माण, टाँडीबाट शक्तिखोर हुँदै हुग्दी जाने सडक ५ बर्ष भित्र पूरा गर्ने, भण्डारादेखि मलेखु जाने ‘डि्रम प्रोजेक्ट’ चेपाङ सडक ५ वर्षभित्रै डबल लेनमा पिच गर्ने, सौराहादेखि लोथरसम्म पर्यटन सडक निर्माण गरी सौराहामा मात्रै केन्दि्रत पर्यटन व्यसायलाई बिस्तार गर्ने योजना बनाएका छन् ।

यसैगरी शक्तिखोरमा विषेश औद्योगिक क्षेत्र निर्माण गर्ने र सोही ठाउँमा पोलिटेक्निक महाविद्यालय निर्माण गर्ने, सौराहादेखि शुरु गरेर गोलाघाट भोजाड हुँदै उत्तरखण्डमा रिङरोड बनाउने, सौराहामा अन्तराष्ट्रिय सभाहल निर्माण गर्ने ठूला योजनाहरुलाई पनि प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।

देशभरका सुकुम्वासीको जस्तै समस्या झेलेका क्षेत्र नम्बर १ का सुकुम्वासीहरुको उचित व्यवस्थापन गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको पाण्डेको भनाई छ ।

‘कतिपय कार्यक्रमहरु अनगोइङ छन् केहीलाई पुरा गर्न बाँकी छ,’ पाण्डेले भने, ‘म जनताका बीचमा गरेका बाचा पूरा गरेरै छाड्छु ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?