+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

घार माहुरीको ‘घर’

रामहरी ओझा  रामहरी ओझा
२०७४ माघ २२ गते ११:०२

२२ माघ, डोटी । जंगलको बिचमा तीनतले घर, तलतिर रातो माटो र माथिमाथि कमेरो माटोले चिटिक्क पोतिएको छ ।

घरको चारैतिर माहुरीका परम्परागत घारहरु सजाएर राखिएका छन् । महुरी घर वरिवरी घुमिरहेका छन् । तर, यो कुनै व्यवसायिक माहुरीपालक किसानको घर होइन, परम्परागत हो ।

डोटीको दुर्गम साविकको छपाली गाविस-८ कुसिना (हालको आदर्श गाउँपालिका-१) का ५३ वर्षीय जंगबहादुर थापाको घर होयो । उनको घर वरिपरी माहुरीका १५ घार छन् । माहुरी चर्न जाने र र्फकने गर्दा नयाँ मान्छेलाई त माहुरीले टोक्छन् कि भनेर उनको घर आँगनमा बस्नै समेत डर लाग्छ ।

थापाले आधुनिक तरिकाले व्यवसायिक माहुरी पालन पनि हुन्छ भन्ने जानेका छैनन् तर उनको घरमा माहुरीले कहिले छोड्दैन । ‘म सानै छँदाखेरी पनि हाम्रो घरमा १०/१२ घार माहुरी भइराख्थे’ थापा भन्छन् ‘उडेर जाने जात हो, कहिले बड्ने र कहिले घट्ने त भइहाल्छ ।’

उनले कहिलेकाँही २४/२५ घारसम्म पुग्ने गरेको बताए । माहुरी पालनको तालिम लिनुभएको छ भन्ने प्रश्न गर्दा उनी हास्दै भन्छन् ‘माहुरी पालनको पनि के तालिम लिनु ?’

कोत्तर लागेर ढलेका रुखबाट परम्परागत शैलीमा घार तयार गर्छन् थापाले । अनि महुरी आउँछन, घारमा बस्छन् । ‘कहिलेकाँही जंगलमा लगेर घार राखिदिन्छौं, अनि माहुरी बसेपछि घर ल्याएर आउँछौं’ थापाले भने ‘नत्र घरमै सजाएर राखेका घारमा पनि आइहाल्छन महुरी ।’ काठको घारका साथसाथै घरको भित्तामा पनि माहुरीका घार (फाग) बनाएको उनी बताउँछन ।

१५ घार माहुरी भएर पनि मह उत्पादन भने कमै हुने गरेको थापा बताउँछन । ‘२०/२२ किलो वार्षिक मह निस्कन्छ’ थापा भन्छन् ‘कहिलेकाँही धेरै कहिले कम हुन्छ ।’ उनले भने ‘कात्तिक र मंसिरमा हो मह हुने, अरु बेला त हुँदैन खासै ।’ कात्तिक मंसिरमा च्यूरी फुल्ने भएका कारण माहुरीका लागि चारो बढी पाइने उनको भनाइ छ ।

थापाले गाउँमै प्रतिलिटर सात सय रुपैयाँका दरले मह बेच्ने गरेका छन । उनी भन्छन् ‘बजारतिर लगे त अझ दाम पाइन्थ्यो होला तर गएको छैन, गाउँमै आएकाहरुले माग्छन, कसैकसैलाई त ६ सयमै पनि दिने गरेको छु ।’ धेरै हुने भए अन्त लैजानु हुन्थ्यो तर थोरै त गाउँमै बिक्री भइहाल्ने भएका कारण किन दुःख गर्ने भन्ने उनको मानसिकता छ ।

मह निकाल्दा माहुरीले टोक्ने डर रहेको थापा बताउँछन् । ‘टोक्ने त माहुरीको जातै हो, टोक्छन् नि’ उनी थप्छन् ‘आफूले बचेर काम गर्नु पर्छ, मह निकाल्ने समयको पनि ख्याल गर्नु पर्छ ।’ धेरै चिसो समयमा दिउँसो, गर्मी समयमा बिहानै र सामान्य अवस्थामा ९/१० बजेसम्म मह निकालिसक्नु पर्ने थापा बताउँछन् । मह निकाल्दा कपडाको टालो सल्काएर धुँवा लगाउँदै मह झिक्दै गर्ने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?