+
+

राष्ट्रपतिको चुनाव २१ गते प्रस्ताव, उपराष्ट्रपतिको चैत ३ गते

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३ गते १५:४५

३ फागुन, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ ।

निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका सम्बन्धनमा औपचारिक छलफल सुरु गरेको हो ।

छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरेको थियो ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा आयोगले आफूहरुसँग छलफल गरेको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

संघीय संसद गठनसँगै निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श सुरु गरेको हो ।

चैत्र भित्र सम्पन्न हुनेगरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले निर्वाचनको मिति प्रस्ताव गरेपनि त्यसको टुंगो भने सरकारसँग छलफल गरेपछि मात्रै लगाउने तयारी पनि गरेको छ ।

संवैधानिक व्यवस्था अनुसार संघीय संसदको गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने हुन्छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु मतदाता रहनेछन । बहुमतीय प्रणालीबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको खर्च विवरण बुझाउन ढिलाइ नगर्न पनि सचेत गराउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?