२२ चैत, जनकपुरधाम । तपाईको घरमा चामल केलाउन प्रयोग हुने नाङ्लो आकर्षण होला तर नाङ्लो बनाउने कालिगढहरु बसोवास गर्ने वस्ती र उनीहरुको जीवनशैली निकै कष्टकर छ ।
उनीहरुको सीप जति सुन्दर छ, जीवन त्यतिनै कष्टपूर्ण र दरिद्र छ । यस्ता कालिगढहरुलाई तराईमा डोमको संज्ञा दिइन्छ ।
जीवन बृतिका लागि उनीहरु प्रदूषित वातावरणवीच साघुँरो कोठामा दिनरात बिभिन्न आकार प्रकारका डालो, नाङलो, हातेपंखा,फूलदानी,पिजिडा र भकारी जस्ता बाँसका सामानहरु बनाइ नजिकको बजारमा बिक्री गर्छन् ।
यसको अतिरिक्त सुंगुर, बंगुर पालन गर्नु, सरकारी कार्यालय तथा गाउँवस्तीको चर्पी सफाइ गर्नु यिनीहरुको दिनचर्या हो ।
उनीहरु अहिले आफ्नो समाजमा चर्को रुपमा जातीय छुवाछुतको सिकार बन्ने गरेका छन् ।
होटलमा पैसा तिरेर चियानास्ता खान जाँदासमेत उनीहरुले पाउदैन भने पाएको खण्डमा समेत प्लाष्टिकको गिलासमा चिया खानुपर्छ । नास्तासमेत कागजमा खानुपर्ने बाध्यता रहेको छ ।
मुलुकमा राजनीतिक रुपमा व्यवस्थाहरु परिर्वतन भएको छ । एकात्मक राज्य व्यवस्थाबाट मुुलुक संघीयतामा गएको छ तर अहिले पनि तराईमा बसोवास गर्दै आएको दलित समुदायको दिनचर्यामा भने खासै परिवर्तन आउन सकेको छैन ।
मुलुकमा आएको आमुल परिवर्तनसँगै देश विकासको पथमा अग्रसर भइरहेको अवस्थामा अहिलेपनि समाजमा कथित रुपमा रहेको तल्लो जातिलाई हेप्ने र छुवाछुत गर्ने प्रथा अहिलेपनि यथावत रहेको छ ।
तराई मधेसमा सबै भन्दा कथित तल्लो जातिको रुपमा रहेको डोम समुदायलाई अहिलेपनि सामाजिक रुपमा विभेद गरिदै आएको छ ।
मुलुकमा आएको परिवर्तन उनीहरुको लागि कागको लागि बेलपाक्यो हर्ष र विष्मात झै भएको छ ।
जनकपुर उपमहानगरपालिका कपिलेश्वर बस्दै आएकी निर्मला देविले आफूले होटलमा चियाखान जाँदासमेत अरुलाई शिसाको गिलासमा चिया दिने गरेको तर भने आफूहरुलाई चिया नै नदिने दिएपनि पलाष्टिकको गिलासमा दिने गरेको बताइन् ।
खाजाको लागि समेत आफूहरुलाई प्लेटमा नदिएर कागजमा दिने गरेको गुनासो पोखिन ।
समाजिक परिवर्तनको उनीहरुले अनुभूति गर्ने कुरा परै जाओस राज्यले दिन गरेको सेवा सुविधासमेत पुग्न सकेको छैन ।
उनीहरु अहिलेपनि समाजमा हेपिएर बस्नुपर्ने बाध्यता रहेको छ । समाजिक विभेदको सिकार झल्दै आएको भएपनि यस समस्याप्रति कुनैपनि निकायको ध्यान पुग्न सकेको छैन ।
समाजिक रुपमा विभेदको सिकार बन्दै आएको यस समुदायको उत्थानको लागि कुनैपनि प्रयास भने भएको देखिदैन ।
जनकपुर उपमहानगरपालिका १६ बस्ने सरोज मरिक अहिले कक्षा १२ सम्म पढेका छन् । त्यो पढाइ गर्नसमेत उनले निकै संर्घष गर्नु परेको अवस्था रहेको छ ।
समाजिक बिभेद्को कारणले विभिन्न प्रकारको समस्या झेल्दै आएका हुन् । उनले भने आफू विद्यालयमा जाँदा डोम भनेर सबैले हेप्ने गरेको भएपनि जसोतहो बढेको बताउँदै अहिलेपनि छुवाछुत यथावत रहेको भएपनि पहिलोको भन्दा यसमा कमिआएको बताए ।
समाजिक रुपमाविभेद झेल्दै आएका भएपनि राजनीतिककर्मीहरु भने अहिले समाजमा बिस्तारै यो हटन थालेको दावी गर्छन् ।
उनीहरुकाअनुसार पहिलापहिला हुने गरिएको भएपनि अहिले आएर बिस्तारै समाजबाट हट्न थालेको बताउँछन् ।
उनीहरुकाअनुसार समाजिक विभेद अब पहिलो जस्तो नरहेको बताउँछन् ।
नेकपा एमालेका जिल्ला समिति सदस्य श्याम पुर्वेले विगतको जस्तो अहिले छुवाछुत नरहेको बताउँदै विस्तारै हट्ने गरेको बताए ।
जनकपुर उपमहानगरपालिका १६ का वडा अध्यक्ष रामअशिष पजियारले पुरानो पुस्ताका व्यक्तिहरुले मात्रै छुवाछुत मान्ने गरेको भएपनि नयाँ पुस्तामा छुवाछुतको भावना नरहेको बताए ।
जातीय छुवाछुत समाजिक कलंकको रुपमा रहेको छ । यसलाई हटाउनको लागि सबै पक्षको उत्तिकै आवश्यकता रहेको छ ।
विषेश गरेर राजनीतिक दलहरु र स्थानीय समुदायको सहयोगको खाचो रहेको छ । यसको लागि समाजिक जागरणको समेत आवश्यकता रहेको छ ।