बिहिबार बेलुकी आयोजना भएको ‘छैठौ राष्ट्रिय चलचित्र पुरस्कार’लाई पानीले विजोग बनायो । तर, सो अवार्डमा पुगेका कलाकारहरुको विभिन्न गतिविधीले चर्चा पाइरहेको छ । बिहिबार बेलुकी देखिएको सबैभन्दा आश्चर्यलाग्दो दृश्य मध्ये एक हो, निर्देशक मिलन चाम्स र नायक प्रदिप खड्काले एक अर्कालाई गरेको वेवास्ता ।
हुनत, चलचित्र ‘लिलिबिली’ रिलिजसँगै निर्देशक चाम्स र नायक खड्काविच असमझदारी बढेको चर्चा चलचित्र क्षेत्रमा सुरु भएको थियो । मिलनले प्रदिप आफ्नो अगाडि नै पर्न नसकेको उनका निकट चलचित्रकर्मीलाई बताउँदै पनि आएका छन् । वुझ्नमा आएअनुसार, मिलनले प्रदिपलाई लिएर अब कहिल्यै चलचित्र नबनाउने समेत बताउँदै आएका छन् ।
यही असमझदारी बिहिबार बेलुकी पनि देखियो । अवार्डको ब्लू कार्पेटमा अगाडि पुगेका निर्देशक मिलन चाम्स तस्बिर खिचाउन व्यस्त बने । उनले चलचित्र ‘ऐश्वर्य’का नायक रमेश उप्रेती र कलाकार प्रशान्त ताम्राकारसँग तस्बिर खिचाइरहेका थिए ।
सोही, समयमा चलचित्र ‘लिलिबिली’का निर्माता गोविन्द शाही पनि आइपुगे । मिलन गोविन्दसँग गफिन थाले । यसको एकछिनमा नायक प्रदिप खड्का पनि आए । तर, प्रदिप र मिलनले एक अर्कालाई वेवास्ता गरे । दुइले एक अर्काको अनुहार पनि हेरेनन् ।
तर, मिडियाको आग्रहमा गोविन्द, मिलन र प्रदिपले तस्बिर खिचाए, तर एक अर्काको अनुहार पनि हेरेनन् । यसपछि, मिलन ब्लू कार्पेटमा आइपुगेका नायक अनमोल केसी र भूवन केसीसँग गफिन थाले । बरु, मिलन अनमोलसँग भने निकै नजिक देखिए । कार्यक्रम सकिएपछि पनि अनमोल र मिलन गफमा मस्त थिए ।
यो घटनाले पनि प्रदिप र मिलनविच बोलचाल नै बन्द भएको वुझ्न गाह्रो पर्दैन । निर्माता गोविन्द शाही र नायक प्रदिप खड्का मिलेर नयाँ चलचित्र निर्माण गर्दैछन् । मिलन र प्रदिपको बोलचाल बन्द किन भयो, यो कुरा पनि चाडै बाहिर आउने नै छ ।
यसअघि पनि चलचित्र ‘प्रेमगीत’मा काम गरेपछि निर्देशक सुदर्शन थापा र नायक प्रदिप खड्काविच बोलचाल नै बन्द भएको थियो । उनीहरुविच अझै पनि बोलचाल सुचारु हुन सकेको छैन ।