+
+

मासु किन हाम्रो शरीरमैत्री खान्की होइन ? बुझ्नैपर्ने १० कारण

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १२ गते १२:३७

मासु किन खाने ? यसको तात्तातो जवाफ हो, स्वादको लागि । हामी अधिकांशले मासु खाने भनेकै जिब्रोको लागि हो । जब पाहुना आउँछन्, जब चाडपर्व आउँछ, हामी मिठो-मसिनो परिकार खोज्छौं । र, मिठो-मसिनो परिकारमा नम्बर एकमा आउने खान्की हो, मासु ।

घरमा स्वाद फेर्न पर्‍यो भने पनि हामी मासुको परिकार खोज्छौं । कतिपय त मासु बिना खाना नै खाँदैनन् ।

मासु किन खाने ? यसको अर्को पनि जवाफ छ, स्वास्थ्यका लागि । अर्थात शरीरलाई आवश्यक पौष्टिक तत्वमध्ये कति मासुबाट नै प्राप्त हुन्छ ।

सन्तुलित आहारमा मासु पनि सामेल गरिन्छ । तर, अर्को तथ्य के पनि भने, मासुजन्य परिकारबाट जुन पौष्टिक तत्व प्राप्त हुन्छ, त्यो अन्य खाद्यपदार्थबाट पाउन सकिन्छ । त्यसैले मासु निर्विकल्प खाद्य स्रोत भने होइन ।

हाम्रो मासु किन विष जस्तै ?

विश्व समुदायमा अधिकांशले मासु खान्छन् । तर, अरुले खाने मासु र हामीले खाने मासु उस्तै छैन । हामी कुखुरा, खसी, राँगा-भैंसी, सँुगुर, भेडा आदिको मासु खान्छौं । पहिलो कुरा त यी पशुपंक्षीहरु स्वस्थ्य एवं तन्दुरुस्त हुन आवश्यक छ । तन्दुरुस्त, निरोगी पशुपंक्षी भएर मात्र पनि पुग्दैन । त्यसलाई उचित ढंगले बध गर्नुपर्छ ।

अर्थात कुनैपनि जीवजन्तु मासुको लागि काट्ने, मार्ने प्रक्रिया नै हामीले गलत ढंगले गरिरहेका छौं । हामीले जीवजन्तुलाई हिर्काएर, काटेर, घोचेर तड्पाई-तड्पाई मार्छौं । यसरी पशुपंक्षीको हत्या गर्दाको अवस्थामै त्यसको मासु विषाक्त भइसक्छ ।

जब पशुपंक्षीको हत्या गर्छौं, तब त्यसलाई राम्ररी भण्डारण गर्दैनौं । हामीकहाँ फ्रोजन गरिएको मासु खाने प्रचलन त्यती छैन । पशुपंक्षी काटेर, मारेर त्यसलाई सही ढंगले भण्डारण गरिदैन । यस क्रममा मासुमा ब्याक्टेरिया पैदा हुन्छ । कुहिने प्रक्रियामा जान्छ । एक हिसाबले भन्ने हो भने, त्यो सिनो जस्तै हुनपुग्छ ।

अब त्यसलाई पकाउने क्रममा पनि हामी त्रुटी गर्छौं । भएभरको तेल, मरमसला हालेर, चर्को आगोमा पकाउँछौं ।

मासु काट्ने, भण्डारण गर्ने र पकाउने क्रममा त्यसमा रहेको पोषक तत्व नष्ट भइसकेको हुन्छ । अब त्यही मासु खान पुग्छौं । यस्तो मासुमा पोषक तत्व हुने त कुरै भएन । बरु, त्यो कलेजोको भार बन्छ । यस्ता मासुको सेवनले कलेजो, मिर्गौंला, मुटु जस्ता अंगलाई नराम्रो असर पर्छ । उच्च रक्तचाप, मोटोपन जस्ता रोगको समेत सिकार बन्नुपर्ने हुन्छ ।

मासु छाडौं

तपाई स्वस्थ जीवन चाहनुहुन्छ, निरोगी, तन्दुरुस्त हुन चाहनुहुन्छ भने मासु त्याग्नु नै सर्बोत्तम हुन्छ । जिब्रको लोभमा फँसेर शरीरलाई दुनियाभरको रोगको घर बनाउनुभन्दा मासुजन्य पदार्थ त्याग्नु नै राम्रो हुन्छ ।

मासु त्याग्नु ठूलो कुरा होइन । त्यसका लागि एउटै कुरा त्यागे हुन्छ, स्वादको लोभ ।

मासुको बदला सागपात सेवन गरौं । फलफूल, गेडागुडी सेवन गरौं । यस्ता खानेकुराले तपाईको स्वास्थ्य राम्रो हुने मात्र होइन, अनावश्यक खर्च पनि कटौती हुन्छ ।

मासु किन छाड्ने ? त्यसका अरुपनि कारण छन् ।

गरिबलाई मद्दत गरौं

एक अध्ययन अनुसार वर्षमा १०० मिलियन टन अन्न बायोइन्धन बनाउनको लागि प्रयोग हुन्छ । तर, त्यसको सात गुणाभन्दा बढी ७६० मिलियन टन अन्न फार्ममा पालिएका जनावरहरुलाई ख्वाउनका लागि प्रयोग हुन्छ ।

आज पनि संसारमा धेरै मानिसहरु खाना नपाएर मरिरहेको तपाईले सुन्नु नै भएको होला । तपाईले मासु खान छोड्ने हो भने गरिब मानिसहरुले खाना खान पाउँछन् ।

जीवजनावरहरु माथि क्रुर नबनौं

हामी निरिह प्राणीमाथि साह्रै क्रुर र हिंस्रक छौं । हामी उनीहरुका निम्ति हिटलर भन्दा कम छैनौं । यमराज भन्दा कम छैनौं । एकबारको जुनीमा किन यति क्रुर भएर बाँच्ने ?

मासुको लागि ठूलाठूला फार्ममा जनावरलाई अत्यान्तै क्रुर ढंगले पालिन्छ । र, मासुखान योग्य भएपछि उत्तिनै क्रुरतापूर्वक  बध गरिन्छ । यी जनावरहरुले कहिल्यै पनि आफ्नो परिवार हुर्काउन, प्राकृतिक वासस्थान मा बस्न, गुँड बनाउन र अन्य प्राकृतिक कुराहरु गर्न पाउँदैनन्. ।

वातावरण जोगाउनुहोस्

संयुक्त राष्ट्रसंघको भर्खरै प्रकाशित एक रिपोर्टका अनुसार मासु खानु विश्वको प्रमुख वातावरण समस्या मध्ये एक हो । रिपोर्टले मासु खानाले विश्वभर रहेका कार, बस, ट्रक, जहाजले उत्पादन गर्ने भन्दा ४० प्रतिशत भन्दा धेरै गि्रनहाउस ग्याँस उत्पादन गर्ने बताएको छ ।

बर्डफ्लुबाट बँच्न

विश्व स्वास्थ्य संगठनका अनुसार एभिएन फ्लु राम्रोसँग नपकाइएको कुखुराको मासु वा अण्डा खानाले लाग्छ । त्यसैले तपाईले शाकाहारी हुनुभयो भने बर्डफ्लु लाग्ने सम्भावना रहँदैन ।

आफ्नो आयु बढाउनुहोस्

मांसाहारी मानिसको भन्दा शाकाहारी मानिसको औसत आयु १० वर्षभन्दा धेरै हुने पाइएको छ । स्वस्थ शाकाहारी खानाले जीवनभरको लागि स्वस्थ रहन मद्धत गर्छ र मुख्य रोगहरु जस्तैः मुटुको रोग, क्यान्सर र हृदयघातबाट बचाउँछ ।

मुटुरोगबाट बच्नुहोस्

मासु खाने मानिसहरुलाई मुटुको रोग लाग्ने सम्भावना शाकाहारीलाई भन्दा ५० प्रतिशतले बढी हुन्छ । चिकित्सकहरुका अनुसार स्वस्थ शाकाहारी खानाले मुटुको रोगलाग्ने जोखिम घटाउँछ ।

क्यान्सरको जोखिम कम गर्नुहोस्

कमिटी फर रेस्पोन्सिबल मेडिसिनका फिजिसियनहरुका अनुसार शाकाहारी मानिसहरुलाई मांसाहारीलाई भन्दा क्यान्सर लाग्ने समस्या ४० प्रतिशतले कम हुन्छ ।

सुन्दर जिउडालको लागि

शाकाहारी हुनु भनेको शरीरको अनावश्यक तौल घटाएर फिट रहनु पनि हो । भारतको एक सर्वेक्षणअनुसार ३१ प्रतिशत भारतीयहरु मोटोपनाको समस्याले ग्रसित छन् तर शाकाहारी भारतीयमध्ये २ प्रतिशत मात्रै मोटोपनको समस्याले ग्रसित छन् ।

विश्व शान्ती कायम गर्न

लियो टोलस्टोयले भनेका थिए ‘शाकाहारीवाद नै मानवतावादको तपस्या हो ।’ यदि हामीले विश्वमा शान्तीको कामना गर्छौ भने हामी शाकाहारी बन्नुपर्छ । मासु खानु भनेको आफ्नो स्वादको लागि मात्रै जीवजन्तुको हत्या गर्ने समर्थन गर्नु हो ।

शाकाहारीको मज्जा लुट्नुहोस्

शाकाहारीहरुले जब उनीहरुले मासु छोडेर भेज खाना खान थाले उनीहरुको खानाको विविधता पनि धेरै बढेको बताएका छन् । प्लेटमा मासुको सिमित  परिकारको सट्टामा उनीहरुले धेरै प्रकारका गेडागुडी, अन्न, फलफूल, सागसब्जी खान थालेको र कत्तिको त उनीहरुलाई पहिले नामै थाहा नभएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?