१६ जेठ, काठमाडौं । वैदेशिक ठगीको आरोपमा पक्राउ परेका महाराजगञ्जस्थित याख्खा ओभरसिज प्रा.लि.का सञ्चालक भीमबहादुर रोक्का मंगलबार २ लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
उनी गत बुधबार पक्राउ परेका थिए । ओभसिजको मुद्दा सरकारी वकिल हुँदै श्रम विभागसम्म पुगेको थियो । र, उनी धरौटी बुझाएर छुटेका हुन् ।
सरकारले लागू गरेको ‘फ्रि भिसा फ्रि टिकट’ कार्यक्रम विपरित सेवाग्राहीबाट डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म असुली गरेको आरोपमा महानगरीय अपराध महाशाखाले महाराजगञ्जस्थित याख्खा ओभरसिज प्रा.लि. माथि अनुसन्धान थालेको थियो ।
ओभरसिजमा छापा हानेर सञ्चालक रोक्कालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।
प्रहरीले याख्खा ओभरसिजमा छापा मार्दा ६ सय वटा पासपोर्ट, विभिन्न अभिलेख र फाइलहरु बरामद गरेको थियो ।
अनुमतिविनै माइग्रामबाट असुली
प्रहरीको अनुसन्धानले याख्खा ओभरसिजले माइग्रामका लागि भन्दै रोजगारीका लागि मलेसिया जाने युवासँग प्रति व्यक्ति १ सय २५ रिङ्गेट (करिब ३ हजार ४ सय ६ रुपैयाँ) असुल्ने गरेको खुलेको छ ।
जसका लागि याख्खाले अनुमति नै नलिएको भेटिएको प्रहरीको भनाइ छ । उनीहरुमाथिको आरोप प्रमाणित भए कानुनतः ५ वर्ष कैद वा विगो बमोजिमको जरिवाना वा दुवै हुने व्यवस्था छ ।
प्रतिक्रिया 4