श्रीमान-श्रीमतीबीच अनमेल सेक्सः उपचार के हो ?

श्रीमान-श्रीमतीबीच अनमेल सेक्सः उपचार के हो ?

करुणाजी, नमस्कार !

सुरु सुरुमा मानिसले यौनका कुरा गरेको मलाई मन पर्दैनथ्यो । संसारमा यति ठूला समस्या छन्, मानिस जाबो आफ्नो अति व्यक्तिगत कुरा त्यो पनि यौनजस्तो सामान्य कुरालाई किन महत्व दिन्छन् भन्ने लाग्दथ्यो । तर आज म त्यही यौनसम्बन्धी केही समस्याका कारण यो पत्र लेख्दै छु ।

म र मेरी श्रीमती दुवैको उमेर समान छ । अहिले हामी ३६ वर्षका भयौं । हाम्रा तीन सन्तान छन् । ठूली छोरी ८ कक्षामा पढ्दैछिन् भने अरु सानै छन् । हामी दुवैजना सरकारी जागिरे हौँ । हामी दुवैले काम गर्ने स्थान फरक-फरक भए पनि खानपिन र रात सँगै बित्छ । दुवैको आम्दानी राम्रै भएका कारण र स्वस्थ खानेकुरा खानुपर्छ भन्ने अभिप्रायले हामी घरमै आफूलाई मनपर्ने परिकार बनाएर खान्छौं । खानपिन र लगाउने कुरामा हाम्रो रुचि मिल्छ भने घरको काम पनि दुवैजना मिलेर गर्दै आएका छौँ ।

यी सबै कुरा भए पनि हामीबीच यौनचाहना मिल्दैन । मलाई खानपिनपछि रातको पहिलो प्रहरमा श्रीमतीसँग यौनसम्बन्ध राख्न मन लाग्छ । राति राम्रोसँग यौन चाहना पूरा भएन भने बिहानपख पुनः सम्बन्ध राख्न मन लाग्छ । तर, मेरी श्रीमती साताको एकपटक मात्र यौन सम्बन्ध राख्ने चाहना भएको बताउने गर्छिन् । यसले गर्दा रुचि जगाउन सकिन्छ कि सकिँदैन ? सकिन्छ भने त्यसका लागि के गर्नुपर्ला ? मेरो जीवनको यो महत्वपूर्ण समस्या समाधान गरिदिनु हुनेछ भन्ने आशा राखेको छु ।

जवाफः श्रीमतीजस्तै बन्ने प्रयास गर्नोस्

यौनको चर्चा गर्नु वा यौनसम्बन्धी सामग्री पढ्नुलाई नेपालमा गलत रूपमा बुझ्ने गरिन्छ । यही कारण यौनसम्बन्धी लेख लेख्दा मैले पनि अरू केही नपाएर यौनका कुरा मात्र किन लेख्नुहुन्छ भनेर प्रश्न गर्नेहरू धेरै भेटेकी छु । यो प्रश्नभित्रको मनोविज्ञान म राम्रोसँग बुझ्न सक्छु । यद्यपि मलाई थाहा छ, यौन मानव जीवनको महत्वपूर्ण विषयमध्ये एक हो । त्यही महत्वपूर्ण विषय भएका कारण अध्येताका हिसाबले सेवा गर्नु मैले आफ्नो कर्तव्य ठानेकी छु । समयको अभावमा समेत नियमित लेखिरहनुको कारण पनि यही हो ।

करुणा कुँवर

परम्परागत समाज र संस्कारका कारण

कुनै समयमा तपाईंले पनि यौनलाई महत्वहीन विषय मान्नुहुन्थ्यो भन्ने कुरा सुन्दा मलाई अनौठो लाग्दैन । जबसम्म मानिसलाई समस्या पर्दैन, तबसम्म गम्भीर रोगप्रति पनि मानिसले ध्यान दिँदैन । आफूलाई नपरी कुन महत्वपूर्ण र कुन कम महत्वपूर्ण कुरा भन्ने थाहा नहुनु सामान्य कुरा हो । सबै मानिसले एकपटक यौनका विषयमा यस्तै चाहना राख्छन् । हाम्रो परम्परागत समाज र संस्कारका कारण यस्तो भएको हो भन्ने कुरा बुझ्नु आवश्यक छ ।

असमान यौनेच्छाको कुरा

जहाँसम्म तपाईंको यौन समस्याको कुरा छ, यो धेरै जोडीबीच आउने समस्या हो । दुईमध्ये एकलाई बढी र अर्कोलाई कम यौनेच्छा हुनुलाई अनमेल वा असमान यौनेच्छा भनिन्छ । यसले वैवाहिक तथा यौन जीवनमा असजिलो सिर्जना गर्ने पक्का छ । यस्तो स्थितिमा कसैले यौन सम्पर्क नै राख्न नमान्ने हुन्छ भने कसैले यौन सम्पर्क राखे पनि त्यसमा खासै उत्साह देखाउँदैनन् । धेरैजसोले यस्तो अनमेलताको दोष  यौनसाथी वा श्रीमान्-श्रीमतीलाई दिन्छन् । यो प्राकृतिक समस्या भए पनि अरूलाई दोष दिने गरिएको पाइन्छ ।

शारीरिक, मानसिक कारण पो छ कि ? 

तपाईंकी श्रीमतीमा यौनचाहना नै कम भएको पनि हुनसक्छ भने अर्कातिर अन्य कारण पनि हुनसक्छन् । तपाईंकी श्रीमती यौन क्रियाकलापमै संलग्न हुन नरुचाउनुभएको हो भने पर्याप्त मात्रामा यौन चाहना नहुने, यौनउत्तेजना नै सुरु नहुने वा यौन सन्तुष्टि प्राप्त गर्न बाधा पार्ने कुनै पनि कुराका शारीरिक, मानसिक वा दुवै कारण हुन सक्छन् । पाठेघर वा त्यस वरिपरिको संक्रमणका कारण यौनसम्पर्क नै पीडादायक हुने भएकाले कतिपय महिला यौनसम्पर्क नै गर्न मान्दैनन् ।

दीर्घरोगको  प्रभाव

केही दीर्घरोगको पनि यस्तो प्रभाव पर्न सक्छ । कुनै मानसिक समस्या वा यौनप्रतिको गलत मानसिकता, आफैंभित्रका मानसिक विरोधाभास आदि कारणले पनि यस्तो समस्या आउनसक्छ । तपाईंहरूको विवाह भएको धेरै भयो । सुरुका दिनमा यौन सम्पर्क हुँदा तपाईंबाट कुनै गलत काम भएका छन् भने पनि यौन क्रियाकलापमा सहज सहभागिता जनाउन असर पर्छ । त्यसबाहेक दैनिक जीवनमा आइपर्ने तनाव, जस्तै- चिन्ता, निराशा, थकाइ, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनाव आदि यसका कारण हुन सक्छन् । तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरा पनि यससँग सम्बन्धित हुनसक्छन् ।

यौन क्षमता घट्दो क्रममा

तपाईंहरू ३६ वर्ष भइसक्नुभयो । यो यौन क्षमता घट्दो क्रममा हुने उमेर हो । यौन २५ वर्षको उमेरमा उत्कर्षमा पुग्छ र ३५ वर्षपछि कमजोर हुनथाल्छ । यौन क्षमता मानसिक अवस्था हो । यद्यपि उमेरले पनि यसमा ठूलो भूमिका निर्वाह गर्ने हुँदा उमेर बढ्दै जाँदा त्यसमा रुचि कम हुनु स्वाभाविक हो ।

त्यसमा पनि तीन सन्तान जन्माइसक्नुभएकी तपाईंको श्रीमतीको शरीर पहिले जस्तो स्वस्थ नहुनु स्वाभाविक नै हो । यी सबै कुराको सूक्ष्म अवलोकन तपाईंले नै गर्न सक्नुहुन्छ । श्रीमतीमा यौन चाहना नभएको हो वा अन्य कारणले यौनसम्पर्क राख्न नचाहनु भएको हो भने त्यसलाई हटाउनुपर्ने हुन्छ । स्त्रीरोग विशेषज्ञबाट जाँच गराउनुभए प्रजनन अङ्गमा केही समस्या भए थाहा पाउन सकिन्थ्यो । तपाईंकी श्रीमतीपछि सम्पूर्ण परिस्थितिका बारेमा सबैभन्दा बढी तपाईंलाई नै थाहा हुने भएकाले त्यसको विश्लेषण गरेर समाधानको बाटो पहिल्याउनुहोस् ।

मध्यबिन्दुको खोजी 

अर्को कुरा, तपाईंले चाहेजस्तै र आफ्नो अनुकूलता अनुसार नै सबै कुरा नहुन सक्छ । यसमा दुई व्यक्ति संलग्न हुने भएकाले दुवैको चाहना अनि अनुकूलतालाई विचार गरेर कुनै मध्यबिन्दुमा पुग्नुपर्ने हुन्छ । तपाईंले यौनसम्पर्क राख्ने चाहना नहुनुको कारण पत्ता लगाउने र त्यसलाई हटाउनेतर्फ ध्यान दिनुपर्ने हुन्छ ।

श्रीमतीको क्षमता मेरैजस्तो हुनुपर्छ, साताको ७ दिन नै उनले यौनमा संलग्न हुनुपर्छ भन्ने तपाईंको चाहनामा परिवर्तन ल्याउने प्रयास गर्नु तपाईंको कर्तव्य हो । किनभने अरूलाई परिवर्तन गर्ने प्रयास आफ्नै लागि दुःख निम्त्याउनु मात्र हो । बरु आफैमा नयाँ परिवर्तन ल्याउनु र त्यसले अरूलाई सुख दिने प्रयास गर्नु बुद्धिमानी हुन्छ ।

यति हुँदाहुँदै पनि तपाईंहरू बीच समस्याको समाधान हुन सकेन भने एकपल्ट मनोवैज्ञानिक विशेष गरी यौनविज्ञसँग सम्पर्क राख्नुपर्छ । अरु कुरा मिलेर यौनमा मात्र कुरा नमिल्दा अलिकति खिन्नता हुनु स्वाभाविक हो । यद्यपि तपाईंलाई माथि नै भनियो, मानिसको जीवनमा यौन महत्वपूर्ण कुरा हो तर सबैभन्दा महत्वपूर्ण कुरा होइन ।

यौन क्षमता
करुणा कुँवर
लेखक
करुणा कुँवर
मनोविज्ञ

क्रिटिलक इन्सिडेन्ट स्ट्रेस म्यानेजमेन्ट सेक्सन (सीआईएसएमएस) संयुक्त राष्ट्रसंघबाट प्रमाणित तनाव परामर्शदाता युनाइटेड नेसन असिस्टेन्स मिसन इन अफगानिस्तानमा स्टाफ काउन्सिलरका रुपमा आबद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय