काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का नवनियुक्त अध्यक्ष इसान मनीले पाकिस्तानसँग द्विपक्षीय सिरिज नखेल्नु भारतको पाखन्ड मात्र भएको बताएका छन् ।
भारतले जनवरी २०१३ देखि पाकिस्तानसँगै एउटा पनि द्विपक्षीय सिरिज खेलेको छैन । तर, अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गरेका विभिन्न प्रतियोगिताहरुमा उनीहरु १० भन्दा बढी पटक एकआपसमा खेलेका छन् ।
क्रिकइन्फोलाई दिएको अन्तरवार्तामा पीसीबी अध्यक्ष मनीले ‘जनताको इच्छा’ बमोजिम भारत र पाकिस्तानको खेल सुरु हुने बताए । ‘जब हामी भारत जान्छौं वा उनीहरु यहाँ आउँछन्, जनता-जनताबीचको सम्बन्ध बढ्छ’ उनले भने, ‘भारतबाट लाखौं क्रिकेट फ्यान पाकिस्तान आउँछन् र सबै खुसी भएर फर्किन्छन् ।’
दुई देशको सम्बन्ध सुधारको विकल्प नभएको भन्दै उनले भने, ‘कुनै खेलबाट केही रकम आउनुभन्दा मेरा लागि त्यो महत्वपूर्ण छ ।’
तर, अर्को वर्ष भारतमा चुनाव भएकाले अहिले नै भारतीय दृष्टिकोणमा परिर्वतनको अपेक्षा नरहेको उनले बताए । उनले भने, ‘आइसीसीको इभेन्टमा खेल्नु तर, द्विपक्षीय श्रृंखला नखेल्नु पाखन्डपन हो । यसलाई हामीले सम्वोधन गर्नुपर्छ ।’
यदि भारतसँग खेल भएन भने पनि पाकिस्तानको क्रिकेट कति अगाडि बढ्छ भन्ने प्रश्नमा पीसीबीका अध्यक्ष मनीले एक बाक्यमा जवाफ दिए, ‘चिरकालसम्म ।’