११ कात्तिक, काठमाडौं । क्लब फुटबलमा धेरै महत्व पाउने एल क्लासिको अर्थात स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाबीचको खेलमा धेरै कुराको दबाव देखिन्छ । त्योमध्ये विशेष हो, रेफ्रीमा देखिने दबाव ।
आइतबार राति ९ बजे ला लिगामा रियल मड्रिड र बार्सिलोनाबीचको खेलमा ३५ वर्षका जोस मारिया सान्चेज मार्टिनेज रेफ्री बस्दै छन् । यो उनको तेस्रो एल क्लासिको हो ।
हुन त ठूला खेलमा काम गर्ने हरेक रेफ्रीको चाहना हुन्छ । तर, एल क्लासिकोमा रेफ्री बस्दा फाइदा भन्दा धेरै बेफाइदा हुने पूर्वरेफ्री बताउँछन् ।
१९९५ देखि २०१२ सम्म रेफ्रीको काम गरेका एडवार्डो गोन्जालेज रियल मड्रिड र बार्सिलोनाबीचको खेल निकै दबावमा हुने बताउँछन् । ‘हुन त ठूला खेल खेलाउँदा रेफ्रीलाई फाइदा नै हुन्छ । तर, रियल मड्रिड र बार्सिलोनाबीचको खेलले फाइदा भन्दा बेफाइदा धेरै हुन्छ’ उनी भन्छन् ।
यस्ता खेलमा अफिसियलहरुले खेलअघि, ९० मिनेटको समयमा र त्यसपछि पनि विभिन्न खाले परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ ।
‘कतिपय कुराहरु ९० मिनेटभित्रको नियन्त्रणमा मात्रै रहँदैन । तपाईंलाई बीच बाटोमा बाटो छेकिन सक्छ, खेल सुरु हुन हप्ता दिनअघि देखि लगातार फोन आइरहन सक्छ । यसैले बरु खेल सुरु भइहालोस् जस्तो लाग्छ, किनभने मैदानमा आˆनै नियन्त्रण रहन्छ’ गोन्जालेज भन्छन् ।
‘मलाई लाग्छ रेफ्रीले सोच्न हुँदैन, काम गरिहाल्नु पर्छ । जब सोच्न थालिन्छ तब नतिजामा असर पर्छ । यदि खेलाडीको अनुहार हेरियो, उसको जर्सी हेरियो र सोच्न थालियो भने राम्रो हुँदैन । हामीले खेलमा को मेस्सी को रोनाल्डो चिन्दैनौं । सबै खेलाडी मात्रै हुन्’ उनले इएसपीएनसँगको अन्तर्वार्तामा भनेका छन् ।
ला लिगाका खेल खेलाउने समयमा गोन्जालेज विशेष गरी समाचार हेडलाइनमा छाइरहेका हुन्थे । उनले ला लिगामा सबैभन्दा धेरै १ हजार ६ सय ४७ पहेँलो कार्ड दिएका छन् । सबैभन्दा धेरै १ सय ४ पेनाल्टी दिने रेफ्रीमा पनि उनकै नाम छ ।
मैदानमा कस्तोसम्म हुन्छ भन्ने कुरामा उनी २०१० मा पेप गार्डिओला प्रशिक्षक रहेको बार्सिलोना र जोस मोउरिन्हो प्रशिक्षक रहेको रियल मड्रिडबीचको खेल सम्झन्छन् । जसमा बार्सिलोना ५-० ले विजयी भएको थियो ।
‘लियोनल मेस्सीले टचलाइन नजिकैबाट बल बढाइरहेका थिए, सर्जियो रामोसले उनलाई नराम्ररी लडाए । मैले रामोसलाई रेड कार्ड दिएँ । उसले नराम्ररी धकेल्यो पनि । त्यत्तिकैमा आन्द्रेस इनिस्टा आए र भने, ‘रिल्याक्स, इन्जोय इट’ । मलाई उनको त्यस्तो शान्त व्यवहार विश्वासै लागेन ।’
उनी प्रशिक्षकसँगको व्यवहार कहिल्यै राम्रो नहुने पनि बताउँछन् । मोउरिन्होले मार्कालाई दिएको अन्तवार्ता सम्झँदै उनी भन्छन्, ‘मोउरिन्होले भनेका थिए, गोन्जालेज बार्सिलोनाका लागि राम्रा रेफ्री हुन् । उनले भन्न खोजेको के हो ? त्यसपछि उनको कुरामा विचार गरेर मैले रियल मड्रिडलाई फेबर गर्छु भन्ने सोचिएको हैन त ? म किन कुनै क्लबको फेबर गर्छु र ?’
यसैले २०१४ मा रेफ्री छाडेका चेसर मुनिज फर्नान्डेज खेलअघि सञ्चारको कुनै पनि साधनसँग नजिक नरहने गरेको अनुभव सुनाउँछन् । यदि टेलिभिजन हेर्ने, पत्रपत्रिका पढ्ने र सामाजिक सञ्जाल चलाउने गरेमा अनेक कुराले मानसिक असर पर्ने उनको बुझाई छ ।
गोन्जालेज कुनै खेलमा हुने सानो गल्तीलाई लिएर मिडियादेखि सामान्य दर्शकसम्मले कुन रेफ्री कुन क्लबको समर्थनमा छन् भन्ने आँकलन गर्ने गरेको सुनाउँछन् । रेफ्रीबाट कुनै खबत हुने भुललाई लिएर गलत मानसिकता बनाउन नहुने उनी बताउँछन् ।
हुन त आइतबार राति हुने एल क्लासिकोमा पहिलोपटक भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को पनि प्रयोग हुँदै छ । त्यसले पनि आइतबारको खेलमा रेफ्री रहेका मार्टिनेजलाई केही सहज हुनसक्छ ।
‘भीएआरले असाध्यै अप्ठेरो परेको समयमा रेफ्रीलाई सहयोग नै गरेको छ । आफूले केही गल्ती गर्न सक्ने अवस्थाबाट त्यसले बताएकै छ’ गोन्जालेज भन्छन् ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4