+
+
Shares

जीवन शर्मा भन्छन्– शब्द चयनमा पशुपति शर्माजीको ध्यान पुगेन कि ?

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ५ गते ११:२१

५ फागुन, काठमाडौं । लोकप्रिय लोकगायक पशुपति शर्माको एउटा गीतलाई लिएर सामाजिक सञ्जाल एकाएक तातेको छ । उनले दुई दिनअघि यूट्युवमा राखेको गीत आफैंले हटाएपछि पक्ष–विपक्षमा बहस भइरहेका छन् ।

यसै सन्दर्भमा हामीले प्रख्यात जनवादी गायक जीवन शर्मासँग यो गीतको विषयमा उनको धारणा बुझ्न चाह्यौं । पञ्चायतकालमा तत्कालीन शासनसत्ताको विरोधमा गीतमार्फत आवाज बुलन्द गर्ने शर्मा प्रजातन्त्र आए यता पनि निरन्तर जनचेतनामूलक र क्रान्तिकारी गीत गाइरहेका छन् ।

गीतमार्फत देश र समाजका विकृति बाहिर ल्याउनु कुनै पनि गायक गायिकाको अधिकार भएको शर्माले बताए । तर, त्यसो गरिरहँदा गीतले सिंगो देशप्रति नै नकारात्मक भावना फैलाउन भने नहुने उनको भनाई छ ।

‘यो गीतको विषयमा मैले चर्चाहरु सुनिरहेको छु, गायक स्वयम्ले पनि गल्ती रियलाइज गरेर वक्तव्य दिनुभएको छ,’ शर्माले भने, ‘गल्ती महसुस गर्नु आफैंमा महानता हो ।’

गीतको मुखडामा रहेको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट…’ भन्ने शब्दमा शर्माले असहमति जनाए ।

‘यो अतिरञ्जित भनाइ हो । एक त लुट्नेहरु नेपालमा मात्रै छन् भन्न मिल्दैन । अर्को, लुट्न सके लुट भन्ने शब्दले जनमानसमा नकारात्मक सन्देश लिन्छ,’ जनवादी गायक जीवन शर्माले भने ।

त्यसैगरी डेढ अर्बको हेलिकोप्टर चढेको भनेर राष्ट्रपतिलाई सोझै आरोपित गरिनु पनि ठीक नभएको उनको तर्क छ ।

‘राष्ट्रपति भनेको एउटा सम्मानित संस्था हो । यो संस्थालाई विवादमा मुछ्ने खालका शब्दहरु नलेखेको भए हुन्थ्यो,’ उनले भने ।

त्यसपछि अनलाइनखबरले सोध्यो, ‘तपाईंले पनि त राजतन्त्रकालमा राजाका विरुद्ध धेरै गीतहरु गाउनुभएको छ, जतिबेला राजसंस्था अत्यन्त सम्मानित थियो । राजाविरुद्ध गाउनु ठीक, राष्ट्रपतिविरुद्ध गाउन किन नहुने ?’

शर्माले उत्तर दिए, ‘मैले राजाका विरुद्ध होइन, सामन्तवादका विरुद्ध गीतहरु गाएको छु । कुनै व्यक्तिविशेषलाई प्रत्यक्ष ईंगित गरेर गाएको छैन । हामी कलाकारले प्रवृत्ति र चरित्रको विरोध गर्ने हो, व्यक्तिको होइन । प्रवृत्ति ठीक नभएसम्म व्यक्ति जो आए पनि उही हो ।’

शर्माले फेरि पनि दोहोर्‍याए, ‘गायकले नै विज्ञप्ति जारी गरेर भुल सुधार गर्ने बताइसकेपछि अरुले यसमा धेरै विवाद नगर्दा राम्रो हुन्छ ।’

शर्माले थपे, र, यही बहानामा कलाकारको स्वतन्त्रता कुण्ठित हुनेखालका कुनै काम सरकारी तहबाट गरिनुहुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?