६ चैत, काठमाडौं । गएको वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) मा अहिले दिल्ली क्यापिटल्स बनेको डेयरडेभिल्सको हालत खराब रह्यो । १४ खेलमा जम्मा ५ खेल जित्यो र अंकतालिकाको पुछारमा रह्यो ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा पहिलोपटक समावेश भएकाले नेपालमा दिल्लीको समर्थनमा क्रिकेटप्रेमीहरु देखिएका थिए । तर त्यो उत्साह सन्दीप बेञ्चमा रहनु र दिल्ली हारिरहनुले तुहिँदै गएको थियो ।
समूह चरणको अन्तिम दुई खेलमा तीन पटकको विजेता चेन्नई सुपर किंग्सलाई ३४ रनले र डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ११ रनले हराएर दिल्लीले धेरैलाई चकित बनायो ।
त्यसमा पहिलोपटक आईपीएल खेलिरहेका सन्दीप लामिछानेले मुम्बईविरुद्ध ४ ओभरमा ३६ रन दिएर ३ विकेट र दिल्लीविरुद्ध ४ ओभरमा २१ रन दिएको १ विकेट लिएका थिए । उनले अवसर पाएको अर्को खेल रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ४ ओभरमा २५ रन दिएर १ विकेट लिएका थिए ।
फेरिएको टिममा बलियो पक्ष
गएको वर्षको पाठले नै होला, यसवर्ष दिल्लीले ब्राण्डमा मात्र होइन टिममा पनि केही सकारात्मक परिवर्तन गरेको छ ।
शिखर धावनलाई सनराइजर्स हैदराबादबाट ल्याएपछि पृथ्वी शो र कोलिन मुन्रो रहेको ‘टप अर्डर’ ब्याटिङ बलियो देखिएको छ ।
गौतम गाम्भिरले राम्रो खेल देखाउन नसक्दा गएको वर्ष दिल्ली टिममा अनुभवी ब्याट्सम्यानको कमप् देखिएको थियो । त्यो कमी धावनले नै पूरा गर्ने छन् । त्यसमा गएको वर्ष पनि उत्कृष्ट रहेका रिशभ पन्त र श्रेयस ऐयर पनि साथमा हुनेछन् । पन्त र ऐयरले गएको वर्ष जत्तिकै खेल देखाइदिए पनि धावनको साथले यसपटक दिल्ली टिम बलियो बन्ने नै छ ।
यसवर्ष दिल्लीले बलिङमा पनि प्रयोग गर्न सक्ने ठाउँ निकै छन् । सन्दीप लामिछानेसँगै कागिसो रबाडा, ट्रेन्ट बोल्ट, किमो पोउल, स्रेफान रुथरफोर्ड जस्ता अन्तर्राष्ट्रिय खेलाडीमा छनोटको अवसर छ ।
नेपालका लेग स्पिनर लामिछानेले गएको वर्ष अन्तिममा तीन खेल मात्रै खेल्न पाएपनि त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा नियमित उपस्थितिले निकै खारिएका छन् । यसवर्ष दिल्ली टिमको बलियो पक्ष उनी पनि रहने छन् ।
कमजोर देखिने पाटो
दिल्लीको ब्याटिङमा मध्यक्रम अझै पनि उति बलियो देखिँदैन । कोलिन इनग्राम र रिसव पन्त त छन् तर, टिमलाई अप्ठ्यारो पर्दा रेस्क्यु गर्नसक्ने र अन्तिममा विग हिट हानेर खेल जिताउन सक्ने भरपर्दो खेलाडी देखिँदैन ।
विजय शंकर जस्ता हिटरलाई टिमबाट जान दिएकोमा दिल्लीलाई पछुतो हुनसक्छ । अक्षर पटेलमा त्यो विश्वास गर्न सक्ने आधार छैनन् । उनले भरपर्दो फिनिसरका रुपमा आफूलाई स्थापित गर्न सकेका छैनन् ।
बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगमा जस्तै खेल कोलिन इनग्रामले देखाउन सक्ने हो भने दिल्लीको यो डर पनि दुर हुने छ ।
शीर्ष क्रममा कोलिन मुन्रो र मध्यक्रममा कोलिन इनग्रामको स्थान पक्का जस्तै भएकाले दिल्लीमा दुई विदेशी खेलाडीका लागि स्थान बच्छ ।
बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिग, विग ब्यास लिगमा राम्रो गरेका सन्दीप लामिछाने पनि बलिङमा अनिवार्य जस्तै छन् । त्यसमा फास्ट बलिङमा कागिसो रबाडा या ट्रेन्ट बोल्टमध्ये एकजना रहने छन् ।
सम्भावित ११
कोलिन मुन्रो, पृथ्वी शो, शिखर धावन, श्रेयस ऐयर, कोलिन इनग्राम, रिसव पन्त, अक्षर पटेल, सन्दीप लामिछाने, कागिसो रबाडा या ट्रेन्ट बोल्ट, अभेस खान, इशान्त शर्मा ।
अरु खेलाडी – स्रेफान रुथरफोर्ड, हर्सल पटेल, जलाज सक्सेना, क्रिस मोरिस, मन्जोत कार्ला, अमित मिश्रा, हनुमा भिहारी, राहुल तेवाटिया, किमो पोउल, बन्दारु आयप्पा, अंकुश बेन्स, नाथु सिंह ।
प्रतिक्रिया 4