
१३ चैत, दार्चुला । शैल्यशिखर नगरपालिकाको केन्द्र सार्ने निर्णयको विरोधमा उत्रिएका स्थानीय तथा व्यापारीहरुको आन्दोलन चर्किदै गएको छ ।
शैल्यशिखर नगर कार्यपालिकाको बैठकले नगरपालिकाको केन्द्र नक्तड सार्ने निर्णय गरेसँगै मंगलबारदेखि गोकुलेश्वर गाजरीका स्थानीय आन्दोनमा उत्रिएका हुन् ।
नगरपालिकाको केन्द्र बजार क्षेत्रबाट टाढा र अपायक पर्ने स्थानमा सार्ने निर्णय भएकाले आन्दोलन थालिएको संघर्ष समिति संयोजक एवं गोकुलेश्वरका व्यापारी भुवन भन्डारीले बताए । विरोधमा बुधबार स्थानीयले गोकुलेश्वर बन्द गरेका छन् ।
उनीहरुले नाराबाजी गर्दै नगरपालिका कार्यालयसमेत घेराउ गरे । यातायात र शिक्षण संस्था पनि ठप्प पारिएको छ । स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।
निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिले बताएको छ । दार्चुला जिल्लाको प्रबेशद्धार चमेलिया पुलबाट गाडीहरु जिल्लामा भित्रिन नदिइएको स्थानीय जिज्ञासु खत्रीले बताए ।
आन्दोलनबाट समस्याको समाधान नहुने भन्दै छलफलको माध्यमबाट समास्याको समाधान गर्न केही स्थानीयले आग्रह गरिरहेका छन् । नगरपालिकाको केन्द्र नक्तड सार्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन र तालाबन्दी जारी रहने व्यापारी भुवन भण्डारीको भनाइ छ ।
बिहीबारदेखि यातायात बन्द नगर्ने तर नगरपालिका केन्द्रित आन्दोलनका कार्यक्रम गर्ने समझदारी आन्दोलनकारीले प्रहरीसँग गरेका छन् ।
प्रतिक्रिया 4