
१८ चैत, भरवलीया (बारा) । उपद्रयाहा आँधीहुरीले बाराको फेटा गाउँपालिकास्थित भलुवी भरवलिया गाउँलाई क्षणभरमै खण्डहर बनाइदियो । अनलाइनखबरको टिम सोमबार दिउँसो पुग्दा त्यहाँको दृश्य दारुण देखिन्थ्यो ।
एकातिर खुल्ला आकाशको मेसमा खाना पाकिरहेको थियो, त्यहीँ नजिकै हरियो बाँस कात्रो ठीक पारिँदैथ्यो । केही केटाकेटीहरु आफ्ना किताबकापी च्यापिरहेका थिए । अनुहारमा त्रास र अनश्चियले डेरा जमाएको थियो ।
यहाँबाट उठेर कहाँ जाने ? सबैको मनमा यही प्रश्न मडारिएको थियो । एक महिला भन्दैथिइन्, ‘भेटिएका सामानहरु अरु कसैका घरमा राख्छौं । तर, रातकहाँ बिताउने केही थाहा छैन ।’
यहाँका गाउँवासीको ओत लाग्ने छानो मात्र होइन, खाने अन्न पनि हुरीमा बिलायो । हेर्न र फोटो खिच्न आउनेहरुको भिड छ । भीआईपीहरुको आवत-जावत पनि चलिरहेकै छ । तर, यी स्थानीयवासीको पीडामा मल्हम लगाउन कसैले सकेको छैन ।
पीडितहरु आफ्नो घरको भग्नावशेषमा पुरिएका सामान उत्खनन गरिरहेका छन् । अन्नपात त हावाले लगिहाल्यो, सरसामानहरु केही सद्दे भेटिन्छन् कि भन्ने आशले खोतलिरहेका छन् उनीहरु ।
राहत सामग्रीहरु आउन थालेका छन् । तर, त्रिपाल भने अबेरसम्म पनि आइपुगेको थिएन भर्वलियामा ।
प्रतिक्रिया 4