+

ओलम्पिक खेलाडी फुपुलाई २०२० सम्म प्रतिबन्ध

२०७६ वैशाख  २ गते १९:४२ २०७६ वैशाख २ गते १९:४२
ओलम्पिक खेलाडी फुपुलाई २०२० सम्म प्रतिबन्ध

२ वैशाख, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णधारी तथा ओलम्पियक खेलाडी फुपुल्हामु खत्रीमाथि सन् २०२० सम्म प्रतिबन्ध लगाएको छ ।

नेपाल जुडो संघले फुपुलाई टोकियो ओलम्पिक २०२० सम्मका लागि कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको हो । फुपुले भने संघका पदाधिकारीको व्यवहारप्रति दुःख व्यक्त गरेकी छन् ।

१२ औं सागमा स्वर्ण जितेकी फुपु गतवर्ष ओलम्पिकको सोलिडारिटी छात्रवृत्तिअन्तर्गत प्रशिक्षण गर्न जापान पुगेकी थिइन । तर, प्रशिक्षण नै पुरा नगरी स्वीकृत विना स्वदेश फर्किएपछि उनीमाथि संघ र नेपाल ओलम्पिक कमिटि रुष्ट बनेको थियो ।

संघका अध्यक्ष दीपकहर्ष बज्रचार्यले उनलाई २०२० सम्मका लागि प्रतिबन्ध लगाएको जानकारी दिए । ‘फुपुले म फर्किन्छु–फर्किन्छु भनेको थियो तर, यसरी फर्किन्छ भनेर हामीले सोचेको पनि थिएनौं’ उनले अनलाइनखबरसँग भने, ‘उनी स्वीकृति विनै नेपाल खुसुक्क फर्किइन् । हामीले स्वीकृति नदिई त्यसरी भाग्नु गलत हो । त्यसैले उनलाई २०२० सम्म प्रतिबन्ध लगाएको हो ।’

फुपु भने आफुलाई प्रतिबन्ध भन्दा संघका पदाधिकारीको व्यवहारप्रति चित्त दुखाउँछिन् । ‘हो, मेरो गल्ती भयो तर, उहाँहरुले पनि मेरो मानसिक र शारीरिक अवस्था बुझिदिनु भएन’ फुपु थप्छिन्, ‘म स्वीकार गर्छु, म फ्याट्टै नेपाल आइहाले । तर, जानकारी विना म आएको भने होइन । मैले सरहरुलाई भइबरमा म्यासेन्जरमा लिखित रुपमा लेखेर फोटो खिचेर पठाएको थिए ।’

‘एक हप्ताभित्रसम्म म कुर्छु त्यसबेला पनि केही गर्नु भएन भने म आफै पनि स्वदेश फर्किन्छु भनेको थिए । किनभने मलाई त्यसबेला जस्तो गाह्रो कहिल्यै भएको थिएन ।’

फुपुलाई संघले प्रतिबन्ध लगाएपनि उनलाई आधिकारिक सूचना भने आएको छैन । अनलाइनखबरसँग कुरा गर्ने क्रममा भावुक बनेकी फुपु भन्छिन्, ‘गल्तीको प्रयाश्चित गर्छु भनेर बसेको पनि छु तर, संघले तिमी प्रतिबन्धमा परेको छौं भनेर पनि भनेको छैन ।अरु माध्यमबाट सुन्दा दुःख लाग्छ ।’

जुडो संघका अध्यक्ष बज्राचार्यले भने फुपु स्वदेश फर्किएपछि नेपाल ओलम्पिक कमिटीसँग छलफल गरेको र त्यसआधारमा प्रतिबन्ध लगाउने निर्णय भएको बताए ।

प्रतिबन्धसँगै उनले आठौं खेलकुद पनि गुमाएकी छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय