Comments Add Comment

बुटवलको शंकास्पद वस्तु नक्कली बम भएको पुष्टि

५ वैशाख, बुटवल । बुटवलको पुष्पलाल चोक नजिकै फेला परेको शंकास्पद वस्तु नक्कली बम भएको पुष्टि भएको छ ।

सिद्धार्थ राजमार्गकै छेउमा रहेको शिवम् मेशिनरी स्टोर्स अगाडि अशोकाको रुखमुनि परालमाथि पानीको बोतल काटेर तारसहित राखिएको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई डिस्पोज गर्दा ठूलो आवाज आएको थियो । धेरैले बम हुन सक्ने अनुमान गरेपनि इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले भने नक्कली बम भएको दावी गरे । ‘मान्छे तर्साउनका लागि राखिएको होक्स बम हो’ उनले भने ।

मुख्य राजमार्ग किनारमै शंकास्पद वस्तु भेटिन थालेपछि स्थानीयबासी सर्वसाधारण त्रसित भएका छन् । बिहीबार नै रुपन्देहीको कन्चन गाउँपालिका भवन छेउमा पराल र बालुवा पोको पारेर रातो कपडाले बेरेर राखिएको शंकास्पद वस्तु भेटिएको थियो । सेनाको टोलीले डिस्पोज गर्दा बम नभएको नभएको पुष्टि भएको थियो ।

यस्तै बुटवल–भैरह सडक खण्डको कोटिहवाबाटबाट बाउन्नकोटी जाने सडकमा पनि बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेको थियो । विदेशी लगानीको पांचतारे होटेल टाइगर प्यालेस जाने सडकमा सिसाका टुक्रा र बालुवालाई कालो झोलामा राखेर माथि तार देखाएर राखिएको थियो ।

बम भएको आशंकाले स्थानीयहरुमा बिहानै त्रास छाएपनि सेनाको टोलीले डिस्पोज गर्दा सामान्य आवाज मात्र आएको र बम नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको बन्दका कारण प्रदेश ५ का मुख्य राजमार्गमा सार्वजनिक सवारी साधन चलेका छैनन् । निजी सवारी साधन पातलो संख्यामा चलेका छन् । मुख्य बजार क्षेत्र बन्द छन् । भित्री सडकका पसलहरु फाट्टफुट्ट खुलेका छन् । शिक्षण संस्थाहरु पनि बन्द छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment