
१९ वैशाख, पोखरा । न किताब, न चक डस्टर । कक्षामा न कालेपाटी, न सेतो बोर्ड नै । न मार्करले पाठ्यक्रमको शीर्षक लेखिन्छ । कक्षामा प्रवेश गरेसँगै शिक्षकले कम्प्युटर खोल्छन् । पढाउने सामाग्री शिक्षकले पेनड्राइभमा ल्याउँछन् र कम्प्युटरमा जोड्छन् । प्रोजेक्टरमार्फत कक्षाको समाग्री स्मार्ट बोर्डमा देखाइन्छ र सुरु हुन्छ पठनपाठन ।
पढाइलाई बल पुग्ने थप सामाग्री शिक्षकले कहिले गुगलमा सर्च गरेर देखाउँछन्, विद्यार्थीले त्यसैको सिको गर्छन् । कहिले युट्युबको सहायताले विद्यार्थीले बुझाइन्छ ।
हो, अब कास्कीको रुपा गाउँपालिका–५ देउरालीमा अवस्थित विश्वशान्ति माविमा यसैगरी पढाइ हुनेछ ।
सुरु भयो डिजिटल नेपाल अभियान
७ प्रदेशका ७ विद्यालयलाई सूचना तथा प्रविधिमैत्री बनाइँदैछ । डिजिटल नेपालः विकास र समृद्धिको आधार नाम दिएर सरकारले प्रविधिमैत्री विद्यालय बनाउने अभियानको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाटै उद्घाटन गरेका छन् । रुपामा भेला भएकाहरुले भने प्रोजेक्टरमार्फत कार्यक्रम प्रत्यक्ष हेरिरहेका थिए ।
कार्यक्रम सञ्चालिकाले विश्वशान्तिलाई सूचना तथा प्रविधिमैत्री विद्यालय घोषणा गर्न आग्रह गरेपछि प्रधानमन्त्री ओलीले लपटपको बटम दबाए । लगतै कार्यक्रम स्थलमा विश्वशान्ति माध्यामिक विद्यालय लेखिएको ब्यानर ब्याकराउण्डमा देखियो । काठमाडौंको कार्यक्रम र विश्वशान्ति स्कुलको कार्यक्रममा एक साथ ताली बज्यो ।
विश्वशान्तिमा दुई कक्षामा ६० वटा कम्प्युटर राखिनेछ । यसअघि २५ वटा कम्प्युटरसहित ल्याब विद्यालयमा छ । अब विद्यालयमा ८५ वटा कम्प्युटर पुगेका छन् । प्राजेक्टर, स्मार्ट बोर्ड, टिभी र विभिन्न प्रविधिको प्रयोग गरेर कक्षामा पढाइ हुने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । ‘विश्वशान्ति गण्डकी प्रदेशकै प्रविधिमैत्री विद्यालय घोषणा भयो । अब प्रविधिको माध्यमबाट पढाइ हुनेछ,’ ओझाले भने ।
विश्वशान्तिमा अहिले ३ सय ३० जना विद्यार्थी छन् । विश्वशान्तिमा ३ वटा वटा पक्की भवन छन्, जसमा १६ वटाभन्दा बढी स्मार्ट कक्षा कोठा छन् । ३० जनाभन्दा बढी शिक्षक, कर्मचारी छन् । आधाभन्दा बढी जनशक्ति प्रविधि बुझेको र विद्यार्थीलाई बुझाउन सक्ने क्षमताका रहेको प्राध्यानध्यापक वसन्त पहारी बताउँछन् ।
विसं २०२२ स्थापित विश्वशान्ति माविमा एक दशकदेखि ऐच्छिक कम्प्युटरको पढाई हुँदै आएको छ । यसैवर्षदेखि डिप्लोमा सिभिल इन्जिनियरिङको पढाइ सुरु भयो । बिजुलीको सुविधा पुगिसेको विश्वशान्तिमा २ किलोवाट क्षमताको सोलार समेत जडान गरिएको छ ।
प्रविधिमैत्री विद्यालय बनाउन विश्वशान्तिमा मात्र सरकारले झन्डै १ करोड रुपैयाँ खर्च गर्ने छ । नेपाल टेलिकमले इन्टरनेट लगायतका प्रविधिमा सघाउने भउको छ । गाउँकै विद्यालयमा आकर्षण बढाउन यो कार्यक्रमले मदत गर्ने सांसद खगराज अधिकारीले बताए ।
प्रविधिमैत्री विद्यालय छनोट गर्न निवेदनका लागि सातै प्रदेशमा आह्वान गरिएको थियो । त्यसका लागि पोखराका झन्डै ३०÷३५ विद्यालयले आवेदनत दिएका दिए भने प्रदेशभरिबाट ४ सयभन्दा बढी परेका आवेदनलाई उछिन्दै विश्वशान्ति छानिएको हो ।
समुदायका ३० जनालाई पनि अवसर
विद्यालय प्रविधिमैत्री बन्दा समुदायका ३० जनाले पनि कम्प्युटरमार्फत पढ्न पाउने भएका छन् । यसका कम्प्युटर पढाउन सूचना तथा प्रविधि मन्त्रालयले नै कोर्ष डिजाइन गर्ने छ ।
‘एउटा विद्यालयमा कम्तिमा समुदायका ३० जनाले वर्षमा सूचना तथा प्रविधि विषय पढ्न पाए भने पनि धेरै महत्वपूर्ण हुने छ,’ सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले काठमाडौंमा भएको कार्यक्रममा भने, ‘हामीले १ हजार विद्यालयमा कम्प्युटरमार्फत प्रविधि पढाउँदा वर्षमा ३० हजार जनशक्ति उत्पादन हुनेछन् ।’
प्रतिक्रिया 4