
२० वैशाख, काठमाडौं । सडक विभागले वीपी राजमार्गअन्तर्गतको धुलिखेल–खुर्कोट सडकलाई दुई लेनमा विस्तार गर्ने योजना अघि सारेको छ । आगामी वर्षको बजेटबाट नै यो खण्ड विस्तारका लागि रकम व्यवस्था गर्न विभागले सरकारसँग माग गरेको छ ।
यो प्रस्तावमा अर्थ मन्त्रालयले सकारात्मक जवाफ दिएको विभागका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार यो खण्डमा सडक विस्तार गर्न स्थानीय समुदायले दबाव दिएका छन् ।
‘सडक साँघुरो हुँदा दुर्घटना निकै बढेको छ । ओखलढुंगा, खोटाङ, दोलखा, रामेछाप लगायतका जिल्लाका सवारीको निकै चाप पनि छ,’ ती अधिकारीले भने, ‘त्यसैले पहिलो चरणमा खुर्कोटसम्मको सडक फराकिलो बनाउने प्रस्ताव गरेका हौं ।’
यो खण्डमा ठूला सवारी चलाउन रामेछाप क्षेत्रका स्थानीयले लामो समयदेखि माग गर्दै आएका छन् । तर, सरकारले ३२ सिटसम्मको यात्रुबाहक र १० टनसम्मको मालबाहक सवारी मात्रै चलाउन सकिने गरी अनुमति दिएको छ ।
निकै चर्चित र सुन्दर वीपी राजमार्ग जापान सरकारले बनाइदिएको हो । तर एक लेनमा मात्र बनाइएको हुँदा ठूला सवारीलाई यो सडक प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ । त्यसैले सरकारले सजिलै विस्तार हुन सक्ने खुर्कोटसम्मको खण्डलाई फराकिलो बनाउन आगामी वर्षबाटै प्रक्रिया थालिन लागेको हो ।
हाल यो सडकमा पूर्वबाट आउने र पूर्वी पहाडी जिल्लामा जाने साना सवारीको बाहुल्य हुन्छ । रातको समयमा भने यो सडकमा ठूला सवारी चलाउन निषेध छ ।
‘राजमार्ग भनेका छौं, तर राती सवारी रोक्छौं,’ विभागका ती अधिकारी भन्छन्, ‘त्यसैले पनि खुर्कोटसम्मको खण्ड विस्तार गर्न लागिएको हो ।’
खुर्कोट–सिन्धुलीमाडी खण्ड भने विस्तार गर्न अप्ठेरो रहेको निश्कर्ष विभागको छ । त्यसैले त्यो खण्डमा सुरुङमार्ग बनाउन अध्ययन सुरु भएको छ । हाल विभागले सुरुङमार्ग बनाउन सकिन्छ÷सकिँदैन, कति दूरीको बनाउन सकिन्छ र कति खर्च लाग्न सक्छ भन्ने विषयमा प्रारम्भिक अध्ययन गरिरहेको छ ।
यो खण्डमा पनि दुई लेनको सुरुङमार्ग बनाउने योजना छ । बर्दिबासबाट सिन्धुलीमाडीसम्म भने दुई लेनस्तरकै सडक छ ।
वीपी राजमार्गको पुनर्निर्माणका लागि जापानले १ अर्ब ८ करोड रुपैयाँ अनुदान सहयोग गर्ने सम्झौता भइसकेको छ ।
वीपी राजमार्ग भूकम्प र ओभरलोडेड सवारीका कारण विभिन्न भागमा बिग्रिएको छ । केही भागमा पहिरो खसेर समस्या छ । अब मर्मत पनि जापानले नै सहयोग गरिदिन लागेको छ । १६० किलोमिटरको यो राजमार्गका झण्डै २ दर्जन स्थानमा पुनर्निर्माण आवश्यक देखिएको छ । राजमार्गको संरक्षणमा सरकार चुक्दा वीपी राजमार्गको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ ।
विभिन्न कज–वेहरुमा पुल बनाउने गरी सडक विभागसाग सम्झौता पनि भएको छ । अब वीपी राजमार्गमा बन्ने पुल दुई लेनकै हुनेछ ।
प्रतिक्रिया 4