 
																			२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले राष्ट्रिय योजना आयोगलाई लेखेको पत्र प्रधानमन्त्री ओलीको जानकारी बेगर लेखिएको उनको सचिवालयले स्पष्ट पारेको छ ।
आफ्नो सचिवालयको लेटरप्याड प्रयोग गरेर राष्ट्रिय योजना आयोगलाई पत्रचार गरिएकोमा प्रधानमन्त्री ओली आश्चार्यचकित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार एक विज्ञप्तिमार्फत जनाएका छन् ।
झापा क्षेत्र नम्बर ५ का योजनाहरु आगामी बजेटमा समावेश गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले राष्ट्रिय योजना आयोगलाई पत्र पठाएको थियो ।तर, यो पत्रबारे स्वयं प्रधानमन्त्री ओली जानकार नभएको अर्यालको दाबी छ ।
प्रधानमन्त्रीको सचिवालयले लेटर प्याडमा प्रमको चुनाव क्षेत्रका आयोजनाहरुको सूची योजना आयोगमा थमाएको पत्र विहीबार अनलाइनखबरले सार्वजनिक गरेको थियो । यसलाई लिएर प्रधानमन्त्रीको चौतर्फी आलोचना भएपछि प्रेस सल्लाहकार अर्यालले मुख खोलेका हुन् ।
 प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले यो पत्र निजी सचिवालयले प्रधानमन्त्रीलाई जानकारी नदिई भूलबश योजना आयोगमा पठाएको दाबी गरेका छन् । अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद सम्पर्क कार्यालय (झापा) मा संकलन गरिएको आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशन बेगर निजी सचिवालयबाट ‘भूलबश’ योजना आयोगमा पठाइएको बताएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले यो पत्र निजी सचिवालयले प्रधानमन्त्रीलाई जानकारी नदिई भूलबश योजना आयोगमा पठाएको दाबी गरेका छन् । अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद सम्पर्क कार्यालय (झापा) मा संकलन गरिएको आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशन बेगर निजी सचिवालयबाट ‘भूलबश’ योजना आयोगमा पठाइएको बताएका हुन् ।
प्रधानमन्त्री स्वयं योजना आयोगको अध्यक्ष रहेकाले यो यो आयोजना समाजेश गरिदिनु भनेर पत्र लेख्ने वा निर्देशन नदिइने अर्यालको तर्क छ । अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिडियामा प्रचारित त्यस पत्रको कुनै सान्दर्भिकता नरहेको वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु ।’
यो घटनाबारे प्रधानमन्त्री ओली आश्चर्यचकित र दुःखी भएको अर्यालको दाबी छ ।
बालुवाटारमा खैलाबैला !
प्रधानमन्त्रीको सचिवालय टीममा प्रेस सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका अर्यालले पत्रको सान्दर्भिकता नरहेको बताए पनि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले पत्र सार्वजनिक हुनासाथ राष्ट्रिय योजना आयोगका उच्च अधिकारीलाई फोन गरेर पत्र किन सार्वनिक गरेको भन्दै धम्की दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।
प्रधानमन्त्रीले आफ्नो चुनाव क्षेत्रमा योजना पार्न आयोगलाई थमाएको पत्र सार्वजनिक भएपछि बिहीबार साँझ नै बालुवाटारमा खैलाबैला मच्चिएको थियो । योजना आयोग स्रोतका अनुसार पत्रबारे प्रधानमन्त्रीको निजी सचिवालयबाट विष्णु रिमालले सोधखोज गरेका थिए ।
शुक्रबार अपराहृन प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले पत्रको औचित्य नभएको मात्र होइन, प्रमको जानकारी बेगर पठाइएको बताएका छन्, जसले प्रधानमन्त्रीको सचिवालय एक कदम पछि हटेको प्रष्ट भएको छ । तर, प्रेस सल्लाहकार अर्यालको स्पष्टीकरणले थप प्रश्न उठाएको छ, के प्रधानमन्त्रीको सचिवालयबाट लेटर प्याडको दुरुपयोग भइरहेको हो ?
किनभने, प्रेस सल्लाहकार अर्यालले सांसद कार्यालयको निजी सचिवालयले भूलवश पत्र पठाएको दाबी गरेका छन् ।
स्मरणीय के छ भने योजना आयोगलाई पत्र सांसद केपी ओलीको सचिवालयले होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पठाएको छ । यसमा पत्र संख्या र चलानी नम्बर मात्र उल्लेख छैन, प्रधानमन्त्री कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले हस्ताक्षर गरेका छन् । पत्रमा प्रम कार्यालयको छाप समेत लगाइएको छ ।
यदि अर्यालले दाबी गरेको जस्तै प्रधानमन्त्रीको निर्देशन बेगर नै यो पत्र काटिएको हो भने यसअघि काटिएका पत्रहरु पनि यस्तै पो थिए कि ? यदि प्रधानमन्त्रीको जानकारी बेगर यो काम गरिएको हो भने अब प्रधानमन्त्रीको जानकारी बेगर लेटरप्याड र सरकारी छाप प्रयोग गर्नेमाथि कीर्तेको आरोपमा कारवाही होला त ? यो अर्को प्रश्न हो ।
जे होस्, झापा जिल्लालाई लक्षित गरेर राष्ट्रिय योजना आयोगलाई पत्र लेख्नु नाजायज र औचित्यहीन भएको प्रधानमन्त्री केपी ओलीको सचिवायलले स्वीकार गरेको छ, यो चाहिँ सकारात्मक पहल नै हो ।
अब यसैगरी सभामुख र मन्त्रीहरुले योजना आयोगलाई पत्र लेखेर दिएको दबाव पनि फिर्ता लिने कि ?
प्रधानमन्त्रीका प्रेस सल्लाहकारको विज्ञप्ति

 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4