
सिड्नी । अष्ट्रेलियाका अध्यागमन मन्त्री डेभिड कोलम्यानले सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर दिने घोषणा गरेका छन् । सिड्नी र गैरआवासीय नेपाली संघको ओसिनिया रिजनल सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्री कोलम्यानले सहयोगको घोषणा गरेका हुन् ।
यहाँको सबैभन्दा पुरानो संस्था नेप्लीज अष्ट्रेलियन एसोसिएसन (एनएए)मार्फत् उनले रकम सहयोग गर्ने छन् । यो सहयोगलाई यहाँका नेपाली समुदायले महत्वपूर्ण उपलब्धी ठानेको सम्मेलनका आयोजक तथा गैरआवासीय नेपाली संघ ओसिनिया संयोजक धर्मराज अधिकारीले बताए ।
सम्मेलनमा नेपालको संघीय सरकारका कानून मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोल्म्यान, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेलगायतका नेताहरु र ब्यवसायीहरुको सहभागिता छ ।
‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ मूल नारा राखिएको यो सम्मेलनमा विभिन्न बुद्धिजिवीहरुले कार्यपत्रहरु पेश गर्ने र त्यसमाथि बहस हुने आयोजकको भनाइ छ ।
नेपालमा अहिले स्थिर सरकार भएकाले बिकासका निम्ति उपयुक्त वातावरण बनेको र अब प्रवासी नेपालीहरुले योगदान गर्न सक्नेबारे सम्मेलनमा छलफल हुने संयोजक अधिकारीले बताए । ‘सम्मेलनमा गैरआवासीय नेपालीहरुका मुद्दाबारे पनि छलफल हुनेछ जसमा संस्थागत शुद्धीकरण र नेपालमा भएको लगानी सुरक्षण मुख्य बिषय छन्,’ संयोजक अधिकारीले भने ।
अस्ट्रेलियासहित न्युजिल्याण्ड, पपुवान्युगिनी, भानुवाटु लगायत देशमा एनआरएनका संगठन बनेका छन्, जसको नेतृत्व ओसियाना रिजनल समितिले गर्छ ।
मे ११ र १२ सम्म चल्ने ओसियाना सम्मेलन नेपाल सरकार र यहाँस्थित निकायहरुका लागि नेपाल प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर हो । सम्मेलनको क्रममा एनआरएन अन्तर्राष्ट्रिय समितिको चुनावी चहलपहल बढ्ने बताइएको छ ।
प्रतिक्रिया 4