+
+

काठमाडौंमा दिनभर मालबाहक सवारी चलाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १९ गते १२:५०

१९ जेठ, काठमाडौं । आगामी असार १ गतेबाट काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनलाई निषेध गरिने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन पाइने छैन ।

यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ । आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेकका सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न विभागले सूचित गरेको छ । दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला पानी, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारीलाई भने रोकिने छैन ।

काठमाडौंको मुख्य नाकामा जामको समस्या तीव्र भएपछि विभागले यस्तो कदम चालेको हो । काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बाक्लिँदै गर्दा त्यसले रिंगरोड क्षेत्रमा पनि जाम बढेकाले नाकाहरुमै रोक्ने गरी निर्णय भएको विभाग स्रोतले जनाएको छ । काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुनेछ ।

त्यसैगरी चक्रपथ बाहिरको चाबहिल-जोरपाटी सडक, गोपीकृष्ण-कपन सडक, नारायणगोपाल चोक-बुढानीलकण्ठ सडक, बालाजु बाइपास-गोलढुंगा सडक, बगडोल-नख्खु सडक, सातदोबाटो-हरिसिद्धी सडक, ग्वार्को-चापागाउँ सडकमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी सञ्चालन गर्न रोकिने छ ।

काठमाडौं उपत्यकामा बढ्दो जाम न्युनीकरण र सहज रुपमा नाका सञ्चालनको व्यवस्थापनका लागि यो व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक कुमार दाहालले अनलाइनखबरलाई बताए ।

‘शहरभित्र अत्यावश्यक बाहेकका कुनै पनि माल बोकेका सवारी अब ट्राफिकले रोक्छ, सानादेखि ठूला सबै मालबाहकलाई चलाउन दिँदैनौं,’ दाहालले भने, ‘दिउँसै सानो सवारीमा सामान तेर्स्याएर भद्रगोलसँग लोड गरेर सडकमा आउन अब पाइँदैन ।’

यस्तो सवारीले जाम बढाउनुका साथै राजधानीको पनि घटाएकाले रोक्न लागिएको उनले बताए । उनका अनुसार सुस्त गतिमा हिँड्ने पावर टि्रलर लगायतका सवारीले राजधानीभित्र जामको समस्या ब्यापक बनाएका छन् ।

‘यसो गरेपछि काठमाडौंमा रात्री जीवन पनि चलायमान हुनछ, बजार पनि रातीसम्म खुल्छ,’ उनले भने,’अब राजधानीलाई राती पनि ब्युँझै राख्न यसले मद्दत गर्छ ।’
अब नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने मालबाहक सवारी दिउँसो धादिङकै सडक खण्डमा रोकिनुपर्ने भएको छ । टोखाको बाटो भएर आउने सवारी पनि माथिल्लो भागमै रोकिनुपर्ने छ । ककनीको रुट हुँदै आउने मालबाहक सवारी गोलढुंगा अघि नै रोकिनुपर्ने छ । उनीहरुलाई रात परेपछि मात्रै काठमाडौंभित्र प्रवेश गर्न पाउने छन् ।

यसअघि रिंगरोडभित्र ठूला मालबाहक सवारीको मात्रै प्रवेश र सञ्चालन रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?