+
+

कास्कीका स्थानीय तहको बजेट साढे ९ अर्ब

बन्दको कारण देखाउँदै माछापुच्छ्रेले ल्याएन बजेट

अमृत सुवेदी अमृत सुवेदी
२०७६ असार १० गते २०:२०

१० असार, पोखरा । कास्कीका ५ स्थानीय तहमध्ये ४ स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् ।

पोखरा महानगरपालिका, मादी गाउँपालिका र रुपा गाउँपालिकाले मंगलबार बजेट ल्याएका छन् । अन्नपूर्ण गाउँपालिकाले भने सोमबार नै बजेट ल्याएको छ भने माछापुच्छ्रे गाउँपालिकाले १२ गतेमात्र बजेट ल्याउने भएको छ ।

कास्कीका ४ स्थानीय तहबाट साढे ८ करोडभन्दा माथिको बजोट सार्वजनिक भएको छ । माछापुच्छ्रे गाउँपालिकाले आधा अर्बभन्दा माथिको बजेट ल्याउने तयारी गरेको छ ।

कास्कीमा ९ अर्ब साढे ६ करोडभन्दा माथिको बजेट आउने छ । जनसंख्याको हिसाबले सबैभन्दा ठूलो महानगर काठमाडौंले १५ अर्ब ५० करोडको बजेट ल्याउँदा क्षेत्रफलका हिसाबले देशकै ठूलो महानगर पोखराले त्यसको करिब आधा ७ अर्ब ५४ करोडको बजेट सार्वजनिक गरेको छ । ३३ वटा वडा रहेको पोखरा महानगरपालिकाले गएको वर्ष ४ अर्ब ३ करोड रुपैयाँ बजेट ल्याएको थियो ।

मादी गाउँपालिका पोखरापछिको ठूलो बजेट ल्याउने कास्कीको स्थानीय तह बनेको छ । सोमबार नीति तथा कार्यक्रम ल्याएर मंगलबार बजेट सार्वजनिक गरेको मादीले ६१ करोड ३२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो । त्यसपछि अन्नपूर्ण गाउँपालिका छ । सोमबार नै बजेट ल्याएको अन्नपूर्ण गाउँपालिकाले ५८ करोड १० लाखको बजेट सार्वजनिक गरेको छ ।

माछापुच्छ्रे गाउँपालिकाले ५५ करोड आसपासको बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिकाले जानकारी दिएको छ । कास्कीको सानो स्थानीय तह हो, रुपा गाउँपालिका । ७ वडा रहेको रुपा गाउँपालिकाले ३७ करोड १३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सबै स्थानीय तहको जोड भौतिक पूर्वाधार निर्माणमै छ । त्यसमा पनि सडक निर्माण सबैजसो गाउँपालिकाको प्रमुख प्राथमिकतामा छ । पर्यटन, कृषिलाई प्रमुख समृद्धिको आधार मानेर कास्कीका स्थानीय तहले बजेट ल्याएका हुन् ।

बन्दको कारण देखाउँदै माछापुच्छ्रेले ल्याएन बजेट

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार सबै स्थानीय तहले असार १ गतेभित्र बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।
वित्त व्यवस्थापन ऐनको दफा ७ उपदफा २१ को ३ नम्बर बुँदामा भनिएको छ, ‘गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने छ ।’

माछापुच्छ्रे गाउँपालिकाले भने कानुनले व्यवस्था गरेको मितिभन्दा २ दिनपछि मात्रै बजेट ल्याउन लागेको छ । माछापुच्छ्रे गाउँपालिकाले नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले आह्वान गरेको बन्दको कारण देखाउँदै बजेट नल्याएको बताएको छ ।

‘मंगलबार बन्दका कारण बजेट ल्याउन सकेनौं,’ गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले भने, ‘हामीले १२ गतेमात्र बजेट ल्याउन सक्ने भयौं ।’ गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले बन्दका कारण सबै कार्यपालिका सदस्य आउन नसक्ने भएकाले बजेट सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको बताइन् ।

तर, बजेटको सम्पूर्ण तयारी नै नसकिएकोले बन्दका कारण पछाडि सार्न सजिलो भएको एक कार्यपालिका सदस्यले बताए । माछापुच्छ्रेले बुधबार गाउँपालिकाका वुद्धिजीवीहरुसँग थप गर्नुपर्ने, राय लिने कार्यक्रम राखेको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?