१२ असार, बिराटनगर । डकैती मुद्दामा सात वर्ष जेल जीवन विताएर छुटेका व्यक्ति प्रतिबन्धित नेकपामा लागेर आतंक मञ्चाएको आरोपमा पक्राउ परेपछि विप्लव समूहले खण्डन गरेको छ ।
आइतबार दिउँसो मोरङ प्रहरीले बैंक, सुन पसल तथा व्यक्ति लुटपाटको घटनामा संलग्न भएको आरोपमा सुदिप भनिने कंश धिमाललाई पक्राउ गरेर सार्वजनिक गर्दे उनी विप्लव समूहमा आबद्ध भएको खुलाएको थियो ।
तर, समूहले विज्ञप्ति जारी गर्दै कंश पार्टीको कार्यकर्ता नभएको बताएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यामबाट कानेपाखरी–६ का सुदिप भन्ने कंश धिमाल र उर्लाबारी–२, सालघारीका केन्द्रलाल धिमाल (जो हाम्रो पार्टीसँग आवद्ध छैनन्) समेतको गिरफ्तारीलाई नेकपा कार्यकर्ता नै हतियारसहित पक्राउ गरिएको निजद्वय धिमालहरुको विगत गलत आवरणलाई हाम्रो छवि धमिल्याउने गरी जोडेको पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’
अगाडि भनिएको छ, ‘दलाल फासीवादी सत्ता टिकाउन गिरफ्तार गरी हाम्रा नेता, कार्यकर्तालाई जसरी पनि अपराधी करार गराउने नियत र विभिन्न प्रकारका अपराधीलाई पनि जबरजस्ती हाम्रो कार्यकर्ता सावित गर्न खोज्नु नेपाल प्रहरीको राजनीतिक प्रतिशोध सिवाय केही पनि होइन ।’
प्रहरीले भने चन्दा उठाउन बेलबारी आएको बेला विप्लव समूहका जनपरिषद प्रमुख अशोक राईसँगै कंशलाई पक्राउ गरिएको बताएको थियो ।
प्रहरीले उनको घरबाट दुई थान अटोमेटिक पेस्तोल, ४ थान म्यागजिन र १४ राउण्ड गोली बरामद गरेको पनि बताएको थियो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4