
१९ असार, काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका काभ्रेका गुण्डा नाइके सत्यमान लामाले आफूमाथि लागेको ठगी आरोप अस्वीकार गरेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको नियन्त्रणमा पुगेका लामाले भूकम्पपीडितको नाममा आएको पैसाको दुरुपयोग नगरेको दाबी गरेका हुन् ।
महाशाखा स्रोतका अनुसार बयानका क्रममा लामाले अस्पताल निर्माणको काम जारी रहेको दाबी गरेका छन् । ‘तिमाल गाउँपालिकामा हस्पिटल बनाउन भिडियो बनाएको छु’, लामाको बयानलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘एक-एक हिसाब राखेको छु ।’
पीडितले प्रहरीमा दिएको उजुरीअनुसार उनले गाउँमा अस्पताल बनाउने सर्तमा विदेशी संस्थाबाट १ करोड ७५ लाख रुपैयाँ हात पारेका थिए । लामाले १० भदौ ०७४ मा युवा संघका नेता अमित लामाबाट भवन शिलान्यास गराएका थिए । तर, पीडितको दाबीअनुसार हालसम्म अस्पताल निर्माणको नाममा एउटा बोर्ड राख्ने बाहेक अन्य काम भएको छैन ।
प्रहरीका अनुसार ताइवानको संस्था ‘वर्ल्ड विथ आउट सफरिङ’बाट रकम लिएर उनले काम गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, विस्तृत अनुसन्धानका लागि अख्तियारले महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुलाई पत्राचार गरेको थियो । अनुसन्धानका क्रममा लामाको बैंक खातामा पैसाको कारोबार देखिएको थियो ।
गणेश र दावाको सहयोगी
अनुसन्धान अधिकृतका अनुसार सत्यमान कुनै समय अर्का गुण्डा नाइके दावा लामाको निकट सहयोगी थिए । त्यसअघि उनी गणेश लामाको निकटसमेत रहे । तर, आर्थिक हैसियत बलियो बनाउँदै गरेपछि दावाको समानान्तर समूह खडा गर्दै गरेको प्रहरी अधिकृत बताउँछन् ।
उनी बोधिचित्त मालाको व्यापारसमेत गर्छन् । उनको नाम रक्तचन्दन तस्करीमा पनि मुछिएको थियो ।
यसअघि अघिल्लो वर्ष २८ असारमा काठमाडौं प्रहरी परिसर, टेकुले सत्यमानलाई किसानको माला लुटपाट गरेको अभियोगमा पक्राउ गरेको थियो । तर, नेकपा सांसद् नविना लामाले उनलाई छुटाएको आरोप लाग्दै आएको छ ।
प्रहरीले गरेको गुण्डाको वर्गीकरणमा ‘क’ वर्गको सूचीमा परेका लामामाथि लुटपाट, गुण्डागर्दी र अवैध डलर कारोबारमा संलग्न भएको आरोप लाग्दै आएको छ ।
प्रतिक्रिया 4