
३ साउन, काठमाडौं । औषधि व्यवस्था विभागले अभाव औषधिबारे ७ दिनभित्र जानकारी गराउन देशभरका चिकित्सकहरूलाई आग्रह गरेको छ ।
मानिस तथा पशुपंक्षीको उपचारमा आवश्यक कतिपय जीवनरक्षक औषधि पछिल्लो समय बजारमा अभाव छ । जसका कारण चिकित्सकहरूले उपचारमा कठिनाइ झेल्दै आइरहेका छन् ।
यसअघि औषधि अभावबारे जानकारी गराउँदा पनि गम्भीरतापूर्वक नलिइएको आरोप विभागमाथि लागेको थियो । यहीबीच औषधिको नियामककारी निकाय विभागले औषधि अभावबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले शुक्रबार एक सूचना जारी गर्दै अभाव औषधिबारे जानकारी दिन देशभरका सबै चिकित्सकहरूमा आग्रह गरेको छ ।
‘बिरामीहरू (मानिस तथा पशुपंक्षी) को उपचारमा आवश्यक कतिपय जीवनरक्षक औषधिहरू बजारमा उपलब्ध नभएको कारण उपचारमा अत्यन्त कठिनाइ भइरहेको भन्ने गुनासाहरू पटक–पटक यस विभागमा आउने तथा पत्रपत्रिकामा समाचार प्रकाशन हुने गरेकोमा के कस्ता औषधिहरूको बजारमा अभाव रहेको हो, सो सम्बन्धमा विभागमा जानकारी गराउनु हुन अनुरोध गरिन्छ’, विभागद्वारा जारी सूचनामा भनिएको छ ।
विभागले यसका लागि ७ दिने म्याद दिएको छ । विभागका अनुसार, अभाव औषधिबारे खुलाएर चिकित्सकहरूले विभागको इमेल वा केन्द्रीय कार्यालयमा सोझै सम्पर्क राखेर त्यसबारे जानकारी दिन सक्नेछन् ।
प्रतिक्रिया 4