
२४ साउन, काठमाडौं । प्रहरीले लोप्साङ भनिने बाबुराम तामाङलाई गोली हानी पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीलेस्वयम्भूको विजेश्वरी हाउजिङको झिंगु क्याफेबाट लोप्साङ र अमृत तामाङलाई पनि पक्राउ गरेको हो ।
नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण गरेको र आत्मसमर्पण गर्न अस्वीकार गरेकाले घुँडामुनी गोली हानिएको प्रहरीले बताएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीकाअनुसार लोप्साङ पेशेवर गुण्डा हुन् ।
उनले पछिल्लो पटक रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई धम्की दिँदै २ करोड मागेका थिए । मागेजति रकम नदिएर छोरीलाई अपहरण गरेर मारिदिने धम्की दिएको उजुरी प्रहरीमा परेको छ ।
महाशाखा प्रमुख सहकुलबहादुर थापा भन्छन्, ”एक महिनादेखि धम्की आइरहेको रहेछ । त्यसको जानकारी पाएपछि हामीले सुक्ष्म निगरानी र अनुसन्धान थालेका थियौं ।’
गाउँपालिका अध्यक्ष खड्काका अनुसार उनी पछिल्लो समय काठमाडौंमा बस्दै आएका थिए । घर नजिकै आएर रेकी गर्ने प्लोसाङको समूहले कस्तो लुगा लगाएर कता जाँदै छन् समेत भन्ने र गोली खर्च गर्नु नपरोस् भन्ने धम्याउने गरेका थिए ।
लोप्साङले यसअघि लिखु हाइड्रो कम्पनीका कमल कडरियासँग ३० लाख र ग्याल्बो ठेकदारबाट २० लाख असुलेको भेटिएको प्रहरी अधिकृतहरुले जनाएका छन् ।
प्रतिक्रिया 4