
८ भदौ, काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिकाले मापदण्ड पूरा नगरेको भन्दै आइतबार इँटा उद्योगमा डोजर चलाएको छ ।
मापदण्ड पूरा गर्न व्यवसायीहरुलाई ६ महिनाको समयसीमा उपलब्ध गराउँदा समेत वेवास्ता गरेपछि इँटा उद्योगमा बाध्य भएर डोजर र क्रेन चलाउनु परेको नगरपालिकाका प्रमुख टिपी शर्मा तिमिल्सिनाले जानकारी दिए ।
वडा २ र ३ भित्र सञ्चालित ८ वटै इँटा उद्योगको चिम्नी भत्काइने तिमल्सिनाले बताए । व्यवसायीहरुसंगको सम्झौता अनुसार नै चिम्नी भत्काएको नगर प्रमुख तिमल्सिनाले दावी गरे । ६ महिनाभित्र मापदण्ड पूरा गर्न नगरपालिकाले गत पुस २८ गते उद्योगीलाई ६ महिनाको समय दिएको उनले बताए ।
सम्झौताविपरित बल प्रयोग गरेको आरोप
सत्यनारायण इँटा उद्योगका सञ्चालक लक्ष्मण महर्जनले भने नगरपालिकाले सम्झौता विपरित इँटा उद्योगमा डोजर चलाएको आरोप लगाए । व्यवसायीहरुलाई उद्योगमा रहेका सामान हटाउने समय समेत नदिएर एकलौटी रुपमा प्रशासन लगाएर बल प्रयोग गरेको उनको भनाइ थियो ।
व्यवसायीले सडकमा एस्काभेटर राखेर अवरोध सृजना गरेपनि नगरपालिकाले वैकल्पिक सडक बनाएर चिम्नी भत्काएको हो । नमोबुद्ध नगर कार्यपालिकाको बैठकबाट २६ महिना पहिले नै भकुण्डे बजारमा संचालित इँटा भट्टा हटाउने निर्णय गरेको थियो ।
इँटा उद्योग सञ्चालनमा आएदेखि नै विवाद रहँदै आएको थियो । नगरपालिकाले विकल्पसमेत नदिइ अनावश्यक चासो दिएको व्यवसायीहरुको टिप्पणी छ । कृषि उत्पादन हुने स्थानमा उद्योग सञ्चालनमा ल्याउनु खासै उपयुक्त नहुने भन्दै एकथरीले विरोध जनाउँदै आएको थियो ।
प्रतिक्रिया 4