+
+

आइकाओ सम्मेलनमा पर्यटनमन्त्रीले भने- नेपालमा हवाई दुर्घटना घटेको छ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ९ गते ७:५२

९ असोज, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले नेपालको विशिष्टिकृत भौगोलिक बनावट र छिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद पनि केही वर्षदेखि हवाई दुर्घटना हुने दर कम हुँदै गएको बताएका छन् ।

क्यानडाको शहर मड्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४० औं महासभालाई बुधबार सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालमा हवाई दुर्घटना हुने दर घट्दै गएको र यसका लागि थप सुरक्षा मापदण्ड कायम गरिएको जानकारी गराएका हुन् ।

उनले युरोपियन कमिसनको हवाई सुरक्षा सूचीबाट उन्मुक्ति पाउन युरोपियन सेफ्टी एजेन्सीसँग हातेमालो र सहकार्य गरिरहेको बताए । नेपालले उड्डयन सुरक्षा निगरानी क्षमता अभिवृद्धिका लागि निरन्तर प्रयास अगाडि बढाइरहेको पनि उनले बताए ।

मन्त्री भट्टराईले नेपालमा पर्यटन उद्योग एक प्राथमिकता प्राप्त उद्योग भएकाले हवाई सुरक्षालाई उच्चतम कार्य योजनामा राखिएको पनि जानकारी दिए । हवाई सम्पर्क विस्तार गर्ने, मौजुदा विमानस्थलको स्तरोन्नती गर्ने र नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल सरकारले नयाँ रणनीतिका साथ दिगो सञ्चालनको ढाँचा तय गर्न लागेको उनले उल्लेख गरे ।

नयाँ हवाई गन्तव्य वृद्धि गरी २० लाखभन्दा बढी पर्यटक भित्राउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिएको जानकारी गराउँदै मन्त्री भट्टराईले आईकाओ महासभामा सहभागी सबैलाई नेपाल भ्रमणमा आउन आह्वान पनि गरे ।

महासभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले गत महिना नेपालमा आयोजित एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औं सम्मेलनमा सहभागी भइदिएकोमा आइकाओका अध्यक्ष डाक्टर बर्नाड अल्यूलाई धन्यवाद व्यक्त गरे । मन्त्री भट्टराईले आइकाओको रणनीतिक उद्देश्यप्रति नेपालको पूर्ण समर्थन रहेको विश्वास दिलाउन पनि आइकाओको झण्डा सगरमाथा शिखरमा फहराएर नयाँ सन्देश दिएको स्मरण गराए ।

आइकाओको ७५ औं वर्ष पूरा भएको यस महासभामा १७२ राष्ट्रका १ हजार ८ सय ५० पर्यवेक्षक, ३५० सल्लाहकार, ६६ अन्तर्राष्ट्रिय संघसंस्थाका ३ सय जना गरी करिब २ हजार पाँच सय प्रतिनिधिहरु सहभागी छन् । सेप्टेम्बर २४ देखि शुरु भएको महासभा अक्टोबर ४ सम्म चल्ने छ ।

नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत सहभागी छन् । महासभामा संयुक्त अरब इमिरेट्स (युएई)सँग हवाई सम्झौता हुनेछ । यसैगरी अष्ट्रेलियासँग हवाई वार्ता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?