+

नेपाललाई मौका, जोर्डनलाई दबाव !

२०७६ असोज  २८ गते १३:१३ २०७६ असोज २८ गते १३:१३
नेपाललाई मौका, जोर्डनलाई दबाव !

२८ असोज, काठमाडौं । पाँच पटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग ५-० गोलले हारेको नेपाली फुटबल टिम यतिबेला जोर्डनको भूमिमा छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालले आफ्नो अन्तिम अवे खेलमा जोर्डनसँग सोमबार राति प्रतिस्पर्धा गर्दैछ ।

बलियो टिमविरुद्ध ५-० गोलको हार व्यहोर्नु नेपालको लागि अनपेक्षित मानिएको थिएन । यसअघि नेपालले कुबेतसँग ७-० गोलको हार ताजा नै थियो । केही महिनाअघि मात्रै गोलरहित बराबरी खेलेको कुबेतसँग सात गोल खाँदा आलोचित बनेको नेपाली टिम अष्ट्रेलियाविरुद्ध ५-० गोलअन्तरले पराजित हुँदा खासै आलोचना भएन ।

समूह ‘बी’ मा रहेको जोर्डन समूहकै दोस्रो बलियो टिम मानिन्छ । त्यसैले जोर्डनलाई जित्ने भन्दा पनि रोक्नमै नेपालको ध्यान केन्द्रित हुनेछ ।

त्यो ९-० को हार

सन् २०११ को जुलाई २३ मा अम्मान अन्तर्राष्ट्रिय रंगशालामा विश्वकप छनोटको दोस्रो चरणमा जोर्डनसँग पहिलो पटक नेपालले प्रतिस्पर्धा गर्दै थियो । त्यो बेला नेपालका प्रशिक्षक थिए ग्राहम रोबर्ट्स ।

सबै खेलाडी अनुभवी थिए । सागर थापाको कप्तानीमा रहेको नेपाली टिमको तयारी पनि राम्रो थियो । विशेषगरी नेपालको डिफेन्डिङ लाइन बलियो मानिन्थ्यो । तर अवे खेलमा जोर्डनसँग नेपाल ९-० गोलको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

यो नतिजा अनपेक्षित थियो । तर जुलाई २८ मा पाँच दिनपछि आफ्नै घरेलु मैदान दशरथ रंगशालामा भएको होम खेलमा नेपाली खेलाडीले जोर्डनसँग १-१ गोलको बराबरी खेल्यो । खेलको ५३ औं मिनेटमा गोल खादै १-० ले पछि परेको नेपालका लागि भरत खवासले खेलको ८० औं मिनेटमा गोल गर्दै हारबाट जोगाएका थिए ।

आठ वर्षपछि नेपाल फेरि जोर्डनकै भूमिमा विश्वकप छनोटको दोस्रो चरणको अन्तिम अवे खेल खेल्दैछ । नेपालले सोमबार राति ९ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्नेछ । नेपालको लागि यो निकै महत्वपूर्ण खेल हो ।

नेपालको लक्ष्य बराबरी गर्ने भएको कप्तान किरण चेम्जोङले विदाई हुँदै गर्दा बताएका थिए । कप्तान किरणले भनेका थिए, ‘हामी हार मान्दैनौं । गोर्खे पावर देखाएर खेल्ने छौं ।’

नेपालले चाइनिज ताइपेविरुद्ध मात्र राम्रो प्रदर्शन गरेको थियो । सो खेलमा नेपालको डिफेन्स निकै बलियो देखिएको थियो भने मिडफिल्डले उत्तिकै बल निकालेको थियो । जसले गर्दा नेपालले दुई गोल गर्न सफल भयो । तर यस्तो प्रदर्शन अष्ट्रेलियाविरुद्ध देख्न सकिएन ।

चाइनिज ताइपेविरुद्धको जसरी नै प्रदर्शन गर्ने नेपालको लक्ष्य छ । तर जोर्डन नेपालका खेलाडीभन्दा हरेक पक्षमा बलियो देखिन्छ । उसको डिफेन्सिभ लाइन उत्तिकै राम्रो छ भने मिडफिल्ड र फरवार्ड चुस्त छ ।

अंक तालिका समूह ‘बी’

 

क्र.सं. टिम खेल जित बराबरी हार अंक
१. अष्ट्रेलिया
२. कुबेत
३. जोर्डन
४. नेपाल
५. चाइनिज ताइपे

समूह ‘बी’ मा रहेको नेपाल अंक तालिकामा तेस्रो स्थानमा छ । नेपालभन्दा मुनि पुछारमा चाइनिज ताइपे रहेको छ भने उसले एक खेल पनि जितेको छैन । नेपालले अब जोर्डनसँग खेलिसकेपछि फेरि कुबेत, चाइनिज ताइपे, अष्ट्रेलिया र जोर्डनसँग नै होम खेल खेल्नेछ ।

विश्वकप छनोटको दोस्रो चरणको खेल एसियन कप छनोटको खुड्किलो पनि हो । एउटै छनोटबाट दुई वटा प्रतियोगिताको ढोका खुल्ने हुँदा नेपालको लागि अघिल्लो चरणमा पुग्ने राम्रो अवसर छ । तर प्रतिस्पर्धामा बलिया टिम भएका कारण त्यो अवसरको फाइदा उठाउनु नै चुनौतिपूर्ण हुने छ ।

नेपालले दुई खेलमा हार ब्यहोरिसकेको कारण मंगलबार हुने जोर्डनसँगको खेल कम्तिमा पनि बराबरीमा रोक्नु अपरिहार्य छ । बाँकी रहेको होम खेलमा जित हात पार्दै नेपाली टिम अघि बढे सम्भावना अझै कायमै छ ।

नेपालले खेल्ने होम खेल

क्र.सं. प्रतिद्वन्द्वी स्थान मिति
१. कुबेत दशरथ रंगशाला मंसिर ३ गते
२. चाइनिज ताइपेई दशरथ रंगशाला चैत १३ गते
३. अष्ट्रेलिया दशरथ रंगशाला चैत १८ गते
४. जोर्डन दशरथ रंगशाला २०७७ जेठ २२ गते

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय