
२८ कात्तिक, काठमाडौं । सल्यानमा बिहीबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-४ फालावाङकी ६० वर्षीया कृष्णा देवी परियार र ५९ वर्षीया यज्ञी थापा रहेका छन् । दुबै जनाको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । त्रिवेणी गाउँपालिका-४ को बडागाउँमा रा.१ ज.४३२ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सातै जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै प्युठानमा बिहीबार बलेरो गाडी दुर्घटना हुँदा १ जना महिलाको मृत्यु भएको छ । भिगृबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको ग.२ च ५२४९ नम्बरको बलेरो गाडी स्वर्गद्वारी नगरपालिका-४ मनखोला भिरस्थित सडकदेखि अन्दाजी ३ सय मिटर तल खस्दा परिचय नखुलेकी महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित ४ जना घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारको लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिका-२ बैरिया सडक खण्डमा को.२३ प.५४० नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ६० वर्षीय रामप्रसाद साहको उपचारको लागि लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4