Comments Add Comment

रसुवामा सुख्खा बन्दरगाह निर्माण थालियो

६ मंसिर, काठमाडौं । रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण थालिएको छ । बुधबार औपचारिक रुपमा बन्दरगाहको शिलान्यास भएसँगै निर्माण सुरु भएको हो ।

रसुवाबाट हुने वैदेशिक व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले निर्माण गर्न लागिएको बन्दरगाह रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ टिमुरेमा रहने छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती शर्मा र इन्टरनेशनल इकोनोमिक एक्सचेन्ज सर्भिस सेन्टर अफ टिबेट कमर्स डिपार्टमेन्ट अफ चाइनाका निर्देशक पियान चेनले बन्दरगाहको संयुक्त रूपमा शिलान्यास गरे ।

निर्माण थालेको साढे दुई वर्ष (३० महिना) मा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बन्दरगाह निर्माणको जिम्मा टिबेट फूली कन्सट्रक्रसन ग्रुप लिमिटेडले पाएको छ । लिमिटेड र नेपाल इन्टरमोडेल यातायात विकास समितिबीच २९ वैशाख २०७६ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

करिब १२ करोड ४० लाख चिनियाँ युआन (करीव २ अर्ब रुपैयाँ) लागतमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । यसका लागि चीन सरकारले आर्थिक सहयोग गरेको छ । ८ दशमलब ५ हेक्टर क्षेत्रफलमा बन्ने बन्दरगाहमा मुख्य भवनसहित भन्सार, क्वारेन्टाइन, बैंक, ल्याब, सुरक्षा निकायका कार्यालय रहने छन् ।

यहाँ एकै पटक तीन सयभन्दा बढी ट्रक–कन्टेनर राख्न सक्ने पार्किङ बनाइनेछ । चीनसँगको व्यापार बिस्तारका लागि रसुवा अहिले सरकारको प्राथमिकतामा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment