+
+

ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्रे सुरु

रासस रासस
२०७६ मंसिर ९ गते १४:२८

९ मङ्सिर, दमौली । ‘ट्रयाक’ खुलेको २४ वर्षपछि भीमाद नगरपालिका-५ र ६ जोड्ने भीमाद ऋषिङपाटन मोटरमार्गमा कालोपत्रे सुरु भएको छ ।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १२ करोड ७८ लाख ९८ हजार ५७३ को लागतमा सडक कालोपत्रे सुरु भएको हो ।

कार्यालयका प्रमुख लक्ष्मी भण्डारीका अनुसार विसं २०५२ मा ट्रयाक खुलेको उक्त मोटरमार्ग कालोपत्रेका लागि पूर्वाधार विकास कार्यालय नवलपुरले काठमाडौँस्थित महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्नसँग गत असोज २३ गते सम्झौता गरेको थियो । कूल ७.२ किमी मोटरमार्ग कालोपत्रेका लागि विसं २०७७ पुस २२ गतेसम्म म्याद रहेको उनको भनाइ छ ।

मोटरमार्गको १० मिटर दायाँबायाँमध्ये नौ मिटरमा कालोपत्रे गरिनेछ । भण्डारीका अनुसार सडकको एक/एक मिटरमा नाला निर्माण हुनेछ । धुँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयवासीलाई मोटरमार्ग कालोपत्रेपछि सहज हुने भण्डारीको भनाइ छ ।

निर्माण कम्पनीका प्रोपाइटर सन्जय हिराचनले तोकिएकै समयमा गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

कालोपत्रेको काम सुरु भएपछि स्थानीयवासी हर्षित भएको मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष गञ्जसिंह गुरुङले बताए । ‘यही मोटरमार्गलाई देखाएर विगतमा नेताहरुले भोट मागे, तर चुनाव जितेपछि यो मोटरमार्गलाई कहिल्यै वास्ता गरेनन्,’ गुरुङले भने, ‘स्थानीयवासीको सपना अहिले आएर बल्ल पूरा हुन लागेको छ ।’

सडक कच्ची हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले यहाँका स्थानीयवासी आक्रान्त हुँदै आएको गुरुङले बताए । ‘सडक कालोपत्रे सुरु भएसँगै धुलोको समस्याबाट मुक्ति पाइने भएको छ,’ उनले भने, ‘आर्थिक मामिलामन्त्रीले गत निर्वाचनमा बोलेको बचन पूरा गर्नुभयो ।’

काम सुरु हुने तर बीचमा नै अलपत्र हुने धेरै ठाउँको अवस्था रहेकोले यहाँ सुरु भएको कालोपत्रे कामको स्थानीयवासीले सधैँ निगरानी गर्नेसमेत गुरुङले बताए ।

स्थानीयवासी गोपाल थापाले सङ्घीयता कार्यान्वयनसँगै विकासको अभियान सुरु भएको महसुस हुन थालेको बताउँदै खुसी व्यक्त गरे । ‘धुलोको समस्याबाट यहाँका जनता साहै्र पीडित थिए,’ थापाले भने, ‘ढिलै भए पनि मोटरमार्ग कालोपत्रेको काम सुरु भएको छ, स्थानीयवासी खुसी छन् ।’

कालोपत्रे हुन लागेको सडकको शिलान्यास गर्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । मन्त्री गुरुङले प्रदेश सरकारले जनताको आवश्यकतालाई ध्यानमा राखेर विकास निर्माणका काम गरिरहेको बताए ।

मन्त्री गुरुङले मुस्ताङदेखि तनहुँको भीमाद हुँदै नवलपुरको कावासोती जोड्ने प्रादेशिक सडकलाई गौरवको आयोजनाको रुपमा राखेर सरकारले उक्त मोटरमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिइसकिएको जानकारी दिए ।

भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले नगर क्षेत्रभित्र रहेका कच्ची मोटरमार्ग कालोपत्रेलाई प्राथमिकता दिइएको भन्दै ठूला आयोजना निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरिने बताए ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भीमाद नगरपालिका हुँदै ऋषिङको पल्ट्याङसम्म पुग्ने यो मोटरमार्गको छुट्टै महत्व रहेकाले प्रदेश सरकारमार्फत कालोपत्रे सुरु हुनु सकारात्मक रहेको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?