Comments Add Comment

पप्पुले पुल अलपत्र छाडेपछि बेलिब्रिज राख्ने तयारी

१२ मंसिर, बुटवल । भैरहवा–लुम्बिनी सडकखण्डको तिनाउ र डण्डा नदीमा पप्पु कन्स्ट्रक्सनले अलपत्र अवस्थामा छाडेका पुलको ठाउँमा बेलिब्रिज राख्ने तयारी भएको छ । पर्यटन मार्गका रूपमा एशियाली विकास बैंकद्वारा हुलाकी राजमार्गमा निर्माणाधीन दुईवटा पुलको काम पप्पु कन्स्ट्रक्सनले एक वर्ष म्याद थप्दा पनि पूरा नगरी अलपत्र छाडेपछि बेलिब्रिज राख्ने तयारी थालेको हो ।

प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको छ भने संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउँदैछ । पुल अलपत्र हुँदा बुद्ध जन्मस्थल लुम्बिनी र तिलौराकोट जाने पर्यटक र सर्वसाधारणले सडकमा घण्टौं सवारी जामको सास्ती बेहोरिरहेका छन् । यो सडक भएर दैनिक सयांै सवारी साधनहरु ओहोरदोहोर गर्छन् ।

एकातिर निर्माणाधीन सडकको धुलो, अर्कोतर्फ जीर्ण र साँघुरो पुलका कारण सवारी जामले लुम्बिनी आउने पर्यटकको संख्या नै घट्न थालेपछि सरकारलाई टाउको दुखाइ भएको छ ।

साँघुरो र कमजोर दुबै पुरानो पुलमा दुईतर्फी सवारी आवागमनमा रोक लगाइँदा दुईवटै पुलको मुखमा दिनहुं सवारी जाम हुने गर्छ । बेलिब्रिज राख्ने स्वीकृतिका लागि प्रदेश ५ सरकारले सडक विभागलाई पत्र पठाइसकेको हुलाकी सडक निर्देशनालय योजना कार्यालय कपिलवस्तुका योजना प्रमुख ईश्वर बहादुर रिजालले बताए ।

‘पुरानो ठेक्का तोडेर नयाँ ठेकेदारबाट काम गराउँदा पनि पुल बनाउन समय लाग्छ, भ्रमण वर्षलाई थप असर पर्न नदिने उपयुक्त विकल्प बेलिब्रिज नै हो भनेर प्रक्रिया अघि बढाइसकेका छौं’ रिजालले भने ‘स्थानीय बासिन्दा र जनप्रतिनिधिसंग छलफल गरी जग्गा दिने सहमति जुटाइसकेका छौं, अब विभागको स्वीकृति आएपछि प्राविधिक अध्ययन गरी काम अघि बढ्छ ।’

बेलिब्रिज निर्माण एशियाली विकास बैंकमार्फत गराइने रिजालले बताए । निर्माणाधीन पक्की पुलबाट २० मिटर दुरी छाडेर दक्षिणतर्फ बेलिब्रिज बनाउन सकिने रिजालले जानकारी दिए । हुलाकी सडक निर्देशनालय योजना कार्यालय कपिलवस्तुमा तीन वटा बेलिब्रिज रहेका तर त्यतिले नपुग्ने रिजालले बताए ।

नेपालमा प्राकृतिक प्रकोप वा अन्य कारणले पुल भत्किएर आवागमन बन्द हुँदाको आपतकालीन अवस्थामा अल्पकालीन विकल्पका रुपमा बेलिब्रिजको प्रयोग हुँदै आएको छ । तीन वर्षमा सक्ने गरी २०७१ असार २५ गते पप्पु कन्स्ट्रक्सन र बागमती निर्माण सेवाले पुलको ठेक्का सम्झौता गरेका थिए ।

सम्झौताअनुसार थपिएको म्याद २०७५ असारमा सकिएको २० महिना बितिसक्दा पनि पुल निर्माणतर्फ कुनै चासो दिएको छैन । तिनाउ खोला पुलको लम्बाइ ९०.२ मिटर छ । यो पुल ५ करोड ३३ लाख २४ हजार ४२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले चारपटक गरी करिब ३ करोड भुक्तानी लगिसकेको छ । पुल निर्माणका लागि डाइर्भसन बनाउन भन्दै थप १ करोड १५ लाख माग गर्दै गत वर्षदेखि नै कम्पनीले काम बन्द गरेको छ ।

डाइभर्सन निर्माणका लागि थप रकम नदिएको बाहनामा काम रोकिएको हो । हुलाकी राजमार्ग कार्यालय कपिलवस्तुले निर्माण कम्पनीलाई सम्पर्कमा आउन पटक–पटक ताकेता गरे पनि कम्पनीले अटेर गर्दै आएको योजना प्रमुख रिजालले बताए ।

सोही मितिमा ठेक्का सम्झौता भएको भैरहवा–लुम्बिनी सडकको डण्डा खोलाको पुलको अवस्थामा पनि उस्तै छ । ९०.२ मिटर लम्बाइ रहेको डण्डा खोला पुलका लागि कम्पनीले ५ करोड ५६ लाख ८० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तीन वर्षमा निर्माण सक्ने सम्झौता गरिएकोमा २०७४ सालमा एकपटक म्याद थप भएकोमा थपिएको म्याद गत वर्षको असारमा सकिएको हो । तर पुलको निर्माण अगाडि बढेको छैन ।

पुलका लागि खोलामाथि तीनवटा पिलर ठड्याएर ढलान गरिएपनि वारिपारि दुवैतर्फ जोडिएको छैन । कम्पनीले डण्डा खोलाको पुल निर्माणका लागि भन्दै तीनपटकमा आधा रकम लगिसकेको छ । भौतिक पुर्वाधार मन्त्रालयलाई सरकारले पप्पु कन्स्ट्रक्सनसंग यी दुई पुल निर्माणको ठेक्का पनि तोडेर नयाँ टेण्डर खोल्ने निचोडमा पुगिसकेको छ ।

प्रदेश ५ सरकारका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले अहिलेको ठेकेदारबाट काम नहुने ठहर गरी ठेक्का तोडेर नयाँ प्रक्रियामा जान सम्बन्धित निकायलाई सुझाव दिइएको बताउँछन् । ‘अलपत्र पुलका कारण प्रदेश सरकार र संघीय सरकारका भ्रमण वर्ष नै प्रभावित हुने देखियो, अब अल्झिएर हुन्न भनेर ठेक्का तोड्ने कुरा भएको हो’ मन्त्री चौधरीले भने ।

संघीय सरकारमार्फत् बनिरहेको योजना भएकाले प्रदेश सरकारले निर्माण कम्पनीलाई ताकेता गर्न संघीय सरकारलाई आग्रह गरिरहेको चौधरीले बताए । निर्माणाधीन सडकको धुलो र समयमै पुल नबनेका कारण हुने सवारी जामले पर्यटक घटेको लुम्बिनी पर्साचोकका होटेल व्यवसायी अकरम खानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment