
१७ मंसिर, पोखरा । नेपालको दुवाथलनमा मंगलबार अर्को स्वर्ण जितेको छ । मंगलबार हिमाल टमाटाले ५ किलोमिटर दौड, २० किलोमिटर साइकल दौड र पुन २.५ किलोमिटर दौडको दूरी रहेको दुवाथलन ५७ मिनेट ३३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
नेपालकै लक्ष्मण मल्लले ५९ मिनेट १३ सेकेन्डमा पूरा गर्दै रजत र श्रीलङ्काका असिथ परेरा ५९ मिनट ३२ सेकेन्डमा पूरा गरेर कास्य जिते । टमाटाले भारतको गुहाटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलमा पनि टिम मिक्स रिलेमा रजत पदक प्राप्त गरेका थिए ।
यस्तै महिलातर्फ हुमी बुढामगरले दुवाथलनमा १ घन्टा ८ मिनट ५४ सेकेन्डमा दूरी पार गर्दै रजत पदक दिलाइन् । श्रीलंकाकी इरानगा दुलाग्क्षीले १ घन्टा ५ मिनट ५८ सेकेन्डका साथ स्वर्ण हात पार्न सफल भइन् । श्रीलंकाकै उदया कुमारीले १ घन्टा ९ मिनट ०९ सेकेन्डमा साथ कास्य
पाइन् ।
प्रतियोगितामा तीन देश भारत, श्रीलङ्का र नेपालका ६÷६ खेलाडी सहभागी थिए ।
नेपालको योसहित ट्राइयाथलनबाट २ स्वर्ण २ रजत र एक कास्य भएको छ । बुधबार नेपालले मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छ । नेपाली खेलाडी सोनी गुरुङले इलाइट स्प्रिन्टमा स्वर्ण हात पारेकी थिइन् भने बसन्त थारुले कास्य पदक हासिल गरेका थिए ।
नेपाल ट्राइयाथलन संघका अध्यक्ष एवं दक्षिण एसियाली ट्राइयाथलन संघका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष निलेन्द्र राज श्रेष्ठले स्वर्ण पदक जित्ने खेलाडीलाई १ लाख, रजत जित्नेलाई ५० हजार र कास्य जित्नेलाई २५ हजार नगद पुरस्कारको घोषणा गरे ।
नेपालले ट्राइयाथलनमा दक्षिण एशियाली खेलमा सहभागिता जनाएको यो दोस्रो पटक हो । नेपालले पहिलो पटक १२ औं सागमा सहभागिता जनाउँदा एक रजत र एक कास्य हात पारेको थियो ।
मंगलबार नै उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले पनि स्वर्ण पदक जितेका छन् ।

प्रतिक्रिया 4