
३० मंसिर, गुल्मी । निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र बनेको गुल्मीको रिडीको निर्माणाधीन तीनमुखे पुलको काम लामो समयपछि सुरु भएको छ ।
दुई वर्षअघि नै निर्माण सम्मपन्न गरिसक्नु पर्ने नेपालकै नमूना भनिएको झोलुङ्गे पुलको अहिले पिलरको काम भइरहेको छ । तर, निर्माण कम्पनीले भने पुलको ५० प्रतिशत सम्पन्न भएको दावी गरेको छ ।
पुलको ०७४ असार ९ गते निर्माण कार्य सम्पन्न गर्ने गरी ०७१ मंसिर १५ गते निर्माण कार्य शुभारम्भ भएको थियो ।
नेपाल सरकारको स्थानीय पूर्वाधार विकास तथा कृषि सड्का विभाग (डोलिडार)ले निर्माणका लागि नयाँबाटो-रुबिना-मना जेभीलाई जिम्मा दिएको थियो ।
कूल ९ करोड ८८ लाख २६ हजार ३३२ रुपैयाँ लागतमा निर्माण गर्ने गरी तीनवटा कम्पनीहरुले संयुक्त रुपमा जिम्मा लिएका हुन् ।
पुलको जिम्मा लिएका ठेकदारले सुरुमा केही समय काम गरे पनि पछिल्लो एक वर्षभन्दा बढी समय फरार भएका थिए । पुनः अहिले काम सुरु गरेका छन् ।
अब भने यही गतिमा काम भए तीन महिनामा निर्माण कार्य सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । कुल ५४० मिटर लम्बाई रहने पुलमा प्रत्येक तीनवटा लठ्ठाहरुको लम्बाई १८० हुने ब्यवस्था रहेको छ ।
कालीगण्डकी नदीको बीचमा झण्डै सात मिटर गोलाई भएको पिल्लर रहेको छ । पुललाई सकेसम्म आकर्षक बनाउने तयारी गरी नक्सा बनाइएको थियो ।
पुल बनेसँगै पुलको एउटा मुखबाट पस्ने मान्छे जुन जिल्लामा जान चाहृयो त्यही जिल्लामा जान सक्ने डिजाइन रहेको छ ।
यो पुलले गुल्मीको रुरु, पाल्पाको रुरु धाम, स्याङ्गजाको कारिकोट जोड्ने छ । पुल निर्माण भएपछि यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया 4