Comments Add Comment

कृषिमन्त्रीको दाबी – खसीको मासुको अनियन्त्रित मूल्यवृद्धि रोक्यौं

१४ पुस, काठमाडौं । सांसदहरुले खसीको मासुको मूल्य काठमाडौंमा नियन्त्रण बाहिर गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । मासुको बजार व्यवस्थापनमा सरकार निरिह भएको भन्दै उनीहरुले व्यवसायीका कारण जनता महँगीको मारमा परेको बताए ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा यस विषयमा छलफल भएको थियो । बैठकमा समितिका सभापति विमल श्रीवास्तवले सोलुखुम्बुमा ५ सयमा पाइने खसीको मासु काठमाडौंमा किन १३ सय भन्दै कृषिमन्त्री र बाणिज्य सचिवलाई प्रश्न गरे । देशभर मासुको मूल्य फरक हुनुको कारण प्रष्ट पार्न उनले कृषि मन्त्री र बाणिज्य सचिवलाई आग्रह पनि गरे ।

नेकपा सांसद देवेन्द्र पौडेलले किसानको खसी, बाख्रा, बोका बिक्री नहुने तर बजारमा खसी-बोकाको अभाव रहेको भन्दै राज्यको भूमिका नहुँदा उपभोक्ता र किसान मारमा परेको औंल्याए ।

नेकपाकै अर्का सांसद मुकुन्द न्यौपानेले ओखलढुंगामा ६ सय रुपैयाँ किलो रहेको खसीको मासु र काठमाडौंको मासुमा भएको फरकबारे जानकारी माग गरे । नेपाली कांग्रेसका सांसद प्रकाश रसाईलीले बझाङमा खसीको मासुको मूल्य ५ सय मात्रै भएको सुनाए ।

कुनै ठाउँमा ५ सयमा आउउने मासु काठमाडौंमा किन १३ सय पुग्यो भन्दै सांसदहरुले मन्त्री र सचिवलाई र्‍याखर्‍याख्ति पारेका थिए । छलफलमा उठेका विषयमा जवाफ दिँदै कृषि मन्त्री घनश्याम भुसालले विदेशबाट खसीको आयात रोकिएकाले मूल्यमा बढेको तर्क गरे । ‘बढेको मूल्यको लागत किसानले पाएका छन्,’ मन्त्री भुषालले भने, ‘मूल्य अझै बढ्न सक्थ्यो तर नियन्त्रणमा लिइएको छ ।’

वाणिज्य तथा आपूर्ति सचिव डा बैकुण्ठ अर्यालले पनि अघिल्लो वर्षको चैतदेखि भारतबाट भित्रिने खसी-बोकाको क्वारेन्टाईन चेकजाँच कडाई गरिएपछि बढेको मूल्यलाई काबुमा राख्न आफूहरु सफल भएको समितिमा बताए ।

‘मासुको मूल्य दुई हजार पुग्छ भन्दै हल्ला फैलाइयो र मासु व्यवसायीले पनि मूल्य बढाउन धर्ना दिए,’ उनले भने, ‘तर खाद्यमार्फत गरिएको बजार हस्तक्षेपले गर्दा मूल्य १३ सयमै रोकिएको छ ।’

बजारमा बिक्री भएको मासुको धेरै हिस्सा नेपाली उत्पादन नै भएको र किसानले राम्रो मूल्य लिँदा अध्यधिक माग रहेको ठाउँमा मूल्य अधिक देखिएको सचिव अर्यालले बताए ।

खुल्ला बजारमा सरकारले मासुको मूल्य निर्धारण गर्न सम्भव नरहेको भन्दै सचिव अर्यालले बजार अनियन्त्रित हुन नदिन हस्तक्षेपकारी भूमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment