+
+

जब १०० टिपर निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा भित्रिए…

सुवास पण्डित सुवास पण्डित
२०७६ माघ १८ गते २१:२५

१८ माघ, चितवन । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरको माहोल शनिबार दिउँसो बेग्लै थियो । एक छेउ घन्किरहेको पञ्चैबाजा घन्किरहेको थियो । त्यही बाजाको तालमा कोही मस्त नाचिरहेका थिए ।

यहीबीचमा एक सय वटा टिपर एकसाथ लाम लागेर रंगशाला परिसरमा आए । कुनै चलचित्रको सुटिङजस्तै लाग्ने यो दृष्यले त्यहाँ भेला भएका मानिसहरुलाई थप जिज्ञासु बनायो । सबै जिज्ञासु देखिन्थे– आइतबारबाट सुरु हुने धान्याञ्चल महोत्सवको पूर्वसन्ध्यामा यति धेरै टिपर एकसाथ लाम लागेर किन आइरहेका छन् ? यी टिपरले के बोकेका छन् ?

वास्तवमा धादिङको गल्छी गाउँपालिकाले निर्माणाधीन क्रिकेट रंगशालालाई निःशुल्क सहयोग गरेको बालुवा लिएर ती टिपर चितवन आएका थिए । उक्त बालुवा नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले निःशुल्क ढुवानी गरिदिएको छ । ती टिपरका अगाडि नेपालको राष्ट्रिय झण्डासहित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ लेखेको ब्यानर झुण्डाइएको थियो ।

बालुवा लिएर आएका टिपर चालकहरुले समेत रंगशाला निर्माणमा आर्थिक सहयोग गरेका छन्

बालुवासहित गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्षसहित विभिन्न वडाका वडाध्यक्ष र सदस्य, विभिन्न बालुवा तथा टिपर व्यवसायीहरुको ठूलो समूह निर्माणाधिन क्रिकेट रंगशालामा आएको थियो । रंगशाला आएका सबैलाई फाउण्डेशनका अध्यक्ष धुर्मस र उपाध्यक्ष सुन्तलीले पालैपालो स्वागत गरे । त्यसअघि चितवन प्रवेश गर्ने नाका इच्छाकामना गाउँपालिकाले जनप्रतिनिधि, व्यवसायी तथा टिपर चालकहरुलाई गाउँपालिकाकी अध्यक्ष गिता गुरुङले स्वागत गरेकी थिइन् ।

स्वागत पछि आयोजित कार्यक्रममा बोल्दै गल्छी गाउँपालिकाका प्रमुख कृष्णहरि श्रेष्ठले गाउँपालिकाले जे सक्छ त्यही दिने निर्णय अनुसार बालुवा सहयोग गरिरहेको बताए । गल्छीको वडा नं. ४ मा बालुवा उत्खनन् गर्ने भएकाले बालुवा नै सहयोग दिँदा उपयुक्त देखिएकाले सहयोग प्रदान गरिएको प्रमुख श्रेष्ठले बताए । राष्ट्रिय गौरवको परियोजना निर्माण भैरहेकाले गाउँपालिका पनि त्यसमा हातेमालो गर्न तयार भएको प्रमुख श्रेष्ठले बताए ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले देशभरका स्थानीय तहलाई आआफ्नो तर्फबाट सक्दो सहयोग गर्न आह्वान गरिएको बताए ।

‘गल्छी गाउँपालिकासँग बालुवा थियो, उहाँहरुले बालुवा नै दिनुभयो, अरु स्थानीय तहले अन्य प्रकारले सहयोग गर्न सक्नुहुन्छ,’ कट्टेलले भने, ‘जनस्तरबाट निर्माण भैरहेको रंगशालामा पछिल्लो समयमा बढेको जनस्तरको सहयोगबाट उत्साही छु ।’

बालुवा लिएर आएका टिपर चालकहरुले समेत रंगशाला निर्माणमा आर्थिक सहयोग गरेका छन् । उनीहरुले स्वतस्फूर्त रुपमा रकम उठाएर एक लाख रुपैयाँ रंगशाला निर्माणमा सहयोग गरेका हुन् ।

सोही अवसरमा बालुवा लिएर आएका जनप्रतिनिधि, व्यवसायीहरुले झण्डै एक लाख रकम थप उठाएर रंगशालालाई सहयोग गरेका छन् ।

यसैगरी धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले क्रिकेट रंगशालाका लागि एक सय टिपर क्रसर गिट्टी उपलब्ध गराउने घोषणा गरेका छन् ।

विभिन्न आमा समूहका सदस्यहरुले ७० हजारको चेक पनि धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका छन् । 

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?