२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा आफू घडेरी खोज्दै हिँडेको र भवितव्यबाट जोगिएको बताएका छन् । आफ्नो घडेरी ‘बालुवाटारमा धन्न परेनछ’ भन्दै प्रधानमन्त्री ओलीले आफूलाई भाग्यमानी बताएका छन् ।
‘म भाग्यमानी रहेछु । म घडेरी खोज्दै हिँड्याथें, बालुवाटार धन्न परेनछ’ प्रधानमन्त्री ओली भन्छन्, ‘त्यसबेला यहाँ (बालुवाटारमा) किनबेच भइराख्या रहेछ, म घडेरी खोज्दै हिँड्याथें, धन्न बचेंछु । मैले वहाँ, बालकोट गएर किनें ।’
जग्गा किन्ने व्यक्तिले धनीपूर्जा हेर्ने र मालपोतमा गएर जग्गा पास गर्ने भएकाले आफू भवितव्यबाट जोगिएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘खोज्ने धनीपूर्जा हो, पास गर्ने मालमा गएर हो, ‘प्रधानमन्त्री ओलीले मंगलबार साँझ बालुवाटारमा भने ‘तपाईंहरु पनि कोही पर्नुभएन छ धन्न ! किन्न त कतै–कतै किन्नुभयो होला, अन्तै किन्नु भो यहाँ (बालुवाटारमा) पर्नुभएन ।’
ललितानिवासको जग्गा प्रकरण बाहिर आएपछि आफूले बालकोटमा रहेको आफ्नो निवासको जग्गाबारे पनि सोधीखोजी गरेको प्रधानमन्त्री ओली बताउँछन् । उनी भन्छन्, ‘बालुवाटारको जग्गाको प्रकरण आएपछि मैले त्यहाँ (बालकोटमा) सोधें साथीहरुलाई, त्यो पनि कतै सार्वजनिक जग्गा त परेको छैन ? त्यस्तो रैन छ, ढुक्क भयो ।’
प्रधानमन्त्रीले थपे, ‘त्यो आफ्नो हिसाबले भन्दा पनि भवितव्यले त्यस्तो नपरेको हो ।’
बालुवाटारको जग्गा प्रकरणमा कसलाई कारवाही गर्ने वा नगर्ने भन्ने विषय सरकारको नभएर अख्तियार र अदालतको भएको प्रधानमन्त्री ओलीले बताएका छन् । सरकारको काम जग्गा रोक्का गर्ने मात्र भएको र त्यो रोक्का राखिएको प्रधानमन्त्रीको भनाइ छ ।
‘यो ललितानिवासको जमीन हामीले (सरकारले) गर्ने भनेको रोक्का हो । यसमा जसको जे त्रुटी छ, सरकारले फलानालाई यसो गर, फलानालाई उसो गर भन्ने कुरा होइन । हामीले कुनै संस्था बनाएका छौं भने तिनीहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिन्छौं ।’
आफूले यो काममा कतैबाट पनि हस्तक्षेप नगरी काम गरियोस् भनेर मातहतका निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, ‘मैले प्रहरीमा, सरकारका निकायहरुमा पनि दबाव र हस्तक्षेपमा काम नगर्नका लागि निर्देशन गरेको छु । दबाव र हस्तक्षेपमा काम नगर्ने र भ्रष्टाचार हुन नदिने ।’
आफूले अहिले देशैभरिका सार्वजनिक जग्गाहरु फिर्ता ल्याउने अभियान चलाइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनी भन्छन्, ‘अहिले मैले सार्वजनिक जमीनहरु फिर्ता ल्याउँदैछु । मान्छेले निजी गराएका जमीनहरु फिर्ता ल्याउँदैछु । विभिन्न ठाउँमा फिर्ता लिने क्रम चलेको छ । सार्वजनिक सरकारी सम्पत्तिको सुरक्षा गर्ने काम सरकारको हो र त्यसलाई हिनामिना गर्न नपाउन्, भ्रष्टाचार गर्न नपाउन् भन्ने कुरामा अहिलेको सरकार सजग छ ।’
बालुवाटारको जमिन अर्कै सरकारका पालामा मिचिएको र आफूले चाहिँ त्यसलाई छानविनको दायरामा ल्याएको प्रधानमन्त्री ओलीले दोहोर्याए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4